काठमाडौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावितहरूका लागि नेपाल रेडक्रस सोसाइटीले राहत तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। संस्थाले बाढी प्रभावित भेगमा पाँच हजारभन्दा बढी स्वयंसेवक खटाएर सहयोग पुर्याइरहेको जनाएको छ।

रेडक्रसका अनुसार प्रभावित क्षेत्रमा हालसम्म दुई हजार थान त्रिपाल, एक हजार थान कम्बल, एक हजार थान म्याट्रेस, ६ सय थान डोरी र पाँच हजार किट मर्यादित स्वच्छता (महिनावारी स्वच्छता) सामग्री वितरण गरिसकिएको छ।

यसैगरी, बाढीमा परी ज्यान गुमाएकाहरूको शव व्यवस्थापनका लागि एक हजार ७९० थान शव ब्याग उपलब्ध गराइएको छ भने ५५ थान प्राथमिक उपचार बाकस, ५० थान स्ट्रेचर, १५ थान टेन्ट र ५० थान आपत्कालीन शौचालय समेत पठाइएको छ।
काठमाडौँ जिल्ला रेडक्रस सोसाइटीका सभापति श्यामकाजी डोटेलका अनुसार नुवाकोटको विदुरस्थित किरियापुत्री भवनमा आश्रय लिइरहेका रसुवा र नुवाकोटका घरबारविहीन बाढीपीडितलाई लत्ताकपडा, डिस्पोजल प्लेट, लामखुट्टे धपाउने धुप र मोबाइल पावर बैङ्क वितरण गरिएको छ। साथै, गोसाइँकुण्डबाट उद्धार गरी काठमाडौँको एल्लो गुम्बामा राखिएका प्रभावितलाई समेत मन्डी र म्याट्रेस सहयोग गरिएको छ।
मन्त्रीद्वारा निरीक्षण र सहकार्यको आह्वान
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले रेडक्रसको केन्द्रीय कार्यालय अवलोकन गर्दै महाविपत्तिका वेला संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेकी छन्। उनले बाढी प्रभावित क्षेत्रमा थप सहकार्य आवश्यक रहेको बताइन्।
सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले जोखिममा परेका वर्गलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै रेडक्रसलाई मनोसामाजिक परामर्श र पारिवारिक पुनस्र्थापनाका सेवामा जोड दिन आग्रह गरे।
रेडक्रस तथा रेडक्रिसन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा नेपाल सरकारले गरिरहेको कार्यको प्रशंसा गरेका छन्।
रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारीले रसुवाका बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष देखिएको विनाश र उद्धारको अवस्थाबारे जानकारी गराएका थिए।
