हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

मानवताको नारासहित ६४ औँ वर्षमा रेडक्रस: बाढी प्रभावित क्षेत्रमा ५ हजार स्वयंसेवक खटिए

​काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने मूल नाराका साथ आफ्नो ६४ औँ स्थापना दिवस मनाएको छ। वि.सं. २०२० भदौ १९ गते स्थापना भएको रेडक्रसले ६ दशक लामो यात्रा पूरा गर्दा देशव्यापी सञ्जालमार्फत वार्षिक करिब ३५ लाख नागरिकलाई प्रत्यक्ष मानवीय सेवा पुर्‍याउँदै आएको छ।

Advertisement

​स्थापना दिवसको अवसरमा महामन्त्री ऋषिराम खनालद्वारा जारी विज्ञप्ति अनुसार हाल देशभर १० लाखभन्दा बढी स्वयंसेवकहरू मानवीय सेवामा खटिएका छन्। संस्थाको ७ प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयोग समिति र ६,५८७ जुनियर तथा युवा सर्कलहरूमार्फत विपद् व्यवस्थापन, स्वास्थ्य, रक्तसञ्चार र सामुदायिक विकासका गतिविधि सञ्चालन भइरहेका छन्।

Advertisement

​यसैबीच, गत भदौ १० गते रसुवा, भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि रेडक्रसले झन्डै ५ हजार स्वयंसेवक परिचालन गरेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत सामग्री वितरण, मनोसामाजिक परामर्श र अस्थायी आवास निर्माणका काम तीव्र पारिएको छ।

​रेडक्रसका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रमा १४ सय १८ थान त्रिपाल, १५ सय २० थान कम्बल, ७ सय १५ थान म्याट्रेस, १९ सय ३० थान शव व्यवस्थापन झोला र ८० वटा अस्थायी शौचालय वितरण गरिसकिएको छ। यस्तै ५५ थान प्राथमिक उपचार बाकस, १ हजार थान एन-९० मास्क र अन्य सरसफाइ सामग्रीसमेत उपलब्ध गराइएको छ।

​तत्कालको राहतसँगै रेडक्रसले बाढी प्रभावित क्षेत्रमा भविष्यमा उत्थानशील समुदाय निर्माणका लागि दीर्घकालीन ‘पुनःलाभ कार्यक्रम’ सञ्चालन गर्ने योजना बनाएको छ। यस कार्यमा रेडक्रस तथा रेडक्रिसन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (IFRC), रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC) र साझेदार संस्थाहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)