झापा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछिको खोज, उद्धार तथा क्षतिको अद्यावधिक तथ्यांक नेपाल प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १ हजार २ सय ९० जनाको मृत्यु भएको छ भने ४ हजार ७ सय ९८ जना अझै बेपत्ता छन्।

प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार फेला परेका १,२९० शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन्। ५३२ वटा भने शरीरका आंशिक अंग मात्र फेला परेका छन् भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। फेला परेकामध्ये ९२६ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिसकिएको छ।

बाढीमा परी बेपत्ता हुनेहरूको संख्या ४,७९८ पुगेको छ। बेपत्ता हुनेमा २,३६९ पुरुष र ४७८ महिला गरी २,८४७ जना स्वदेशी र ६०१ जना विदेशी नागरिक रहेका छन्। अन्य १,३५० जनाको बेपत्ता विवरण भने टेलिफोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।
उद्धार कार्यलाई तीव्र पारिएको जनाउँदै प्रहरीले हालसम्म ८,१५७ जनाको घाइते तथा सकुशल उद्धार गरिएको बताएको छ। उद्धार गरिएकामा ६,६१८ जना नेपाली र १,५३९ जना विदेशी नागरिक छन्।
खोज तथा उद्धारका लागि ७,९३२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी आफैँ बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।
मृतकको पहिचानका लागि प्रहरीले विशेष प्रक्रिया अगाडि बढाएको छ। पहिचान हुन नसकेका १,१४१ वटा शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
त्यस्तै, १,१४३ मृतक र ७१९ मृतकका आफन्त गरी कुल १,८६२ जनाको डीएनए नमुना संकलन गरिएको छ।
हाल प्रभावितहरूका लागि सञ्चालन गरिएको होल्डिङ सेन्टरमा ३,६३१ जना आश्रय लिएर बसिरहेका छन्। प्रहरीले सो क्षेत्रमा १०६ वटा जनचेतनामूलक कार्यक्रममार्फत ४१,७२६ जनालाई सहभागी गराएर राहत तथा सचेतना अभिवृद्धि गरिरहेको जनाएको छ।
