हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५१ मिनेट अगाडि

“मानवताका लागि एकताबद्ध होऔँ” भन्ने नाराका साथ नेपाल रेडक्रसको ६४औँ स्थापना दिवस मनाइयो

काठमाडौँ। “मानवताका लागि एकताबद्ध होऔँ” (युनाइटेड इन ह्युम्यानिटी) भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीले शुक्रबार आफ्नो ६४औँ स्थापना दिवस मनाएको छ।

Advertisement

​केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसर र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) का नेपाल प्रमुख सन्देश श्रेष्ठले संयुक्त रूपमा झण्डोत्तोलन गरी स्थापना दिवसको शुभारम्भ गरेका थिए।

Advertisement

​कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. भण्डारीले निस्वार्थ भावनाका साथ खटिने स्वयंसेवकहरू नै रेडक्रसका वास्तविक आधारस्तम्भ भएको बताए। उनले बदलिँदो मानवीय आवश्यकता र विपद्का चुनौतीलाई सम्बोधन गर्न रेडक्रसका अभियानलाई थप समावेशी, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।

​कार्यक्रममा रेडक्रसका महामन्त्री ऋषिरमण खनालले स्वागत मन्तव्य राख्दै मानवीय मर्यादाको संरक्षण नै रेडक्रस अभियानको मूल मर्म भएकाले सबै साझेदार र स्वयंसेवकहरूलाई एकताबद्ध भएर खटिन आह्वान गरे।

​यस्तै, आइसीआरसीका नेपाल प्रमुख सन्देश श्रेष्ठले रसुवा बाढी प्रतिकार्यका क्रममा पारिवारिक पुनर्स्थापना, शव व्यवस्थापन र मानवीय संरक्षणमा नेपाल रेडक्रसको भूमिकाको सराहना गरे। आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य, स्वच्छता, मनोसामाजिक परामर्श तथा बालमैत्री स्थान निर्माणका क्षेत्रमा भइरहेको संयुक्त प्रयासको प्रशंसा गरेका थिए।

​विशेष समारोहमा रेडक्रसका पदाधिकारी, स्वयंसेवक, काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)