झापा । भारतको पश्चिम बङ्गालका प्रख्यात न्युरो सर्जन तथा माटिगाडास्थित ‘डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटल’का संस्थापक डा. डब्ल्यू एच चाङको ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल रोगको चिकित्सा सेवामा समर्पित डा. चाङको दुई दिनअघि निधन भएको हो ।

उत्तर बङ्गाल, सिक्किम, दार्जीलिङ, कालिम्पोङ, डुवर्सका साथै छिमेकी देश नेपालको पूर्वी क्षेत्रका हजारौँ बिरामीहरूका लागि उहाँ र उहाँले स्थापना गरेको अस्पताल एक प्रमुख भरोसाको केन्द्र मानिन्थ्यो । विशेषगरी जटिल न्युरो सर्जरी र मेरुदण्डको शल्यक्रियामा उहाँको योगदान अतुलनीय रहेको छ ।

नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङ लगायत सीमावर्ती जिल्लाहरूबाट ठूलो सङ्ख्यामा बिरामीहरू उपचारका निम्ति उहाँको अस्पताल पुग्ने गर्दथे । उहाँको असामयिक निधनको खबरले चिकित्सा क्षेत्रका साथै समग्र पहाड र सीमावर्ती भेगका सर्वसाधारणमा शोकको लहर छाएको छ ।
