हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४५ मिनेट अगाडि

विपद्का मृतकको सम्झनामा दीप प्रज्ज्वलन गरी रेडक्रसले मनायो ६४ औँ स्थापना दिवस

​नुवाकोट। भोटेकोशी बाढी लगायतका विभिन्न विपद्मा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले ६४ औँ स्थापना दिवस मनाएको छ ।

Advertisement

​नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष एवं सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्य तथा नुवाकोट जिल्ला शाखाका सभापति हरि श्रेष्ठको सभापतित्वमा श्रद्धाञ्जली एवं दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement

​स्थापना दिवसको अवसरमा त्रिशूली नदी किनारमा दीप प्रज्ज्वलन गरी भोटेकोशी बाढी तथा अन्य प्राकृतिक विपद्का क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले दिवङ्गतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

​कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले विपद्को जोखिम र सङ्कटका बेला मानवीय सेवामा रेडक्रसको भूमिका अतुलनीय हुने बताए । उनीहरूले आगामी दिनमा पनि विपद् व्यवस्थापन, उद्धार, राहत वितरण, स्वास्थ्य सेवा तथा रक्तसञ्चार जस्ता क्षेत्रमा रेडक्रसको सेवालाई अझ प्रभावकारी र सशक्त बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

​कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश समितिका महासचिव रामजी पौडेल, नुवाकोट जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू र रेडक्रस स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।

​त्रिशूली नदी किनारमा गरिएको दीप प्रज्ज्वलनले यस पटकको स्थापना दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी विपद्मा ज्यान गुमाएकाहरूप्रतिको सम्मान र मानवीय सेवाप्रतिको प्रतिबद्धता पुनः जाहेर गर्ने अवसरका रूपमा स्थापित गराएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)