हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५१ मिनेट अगाडि

रसुवा बाढी: ५ हजार बेपत्ता, १,३४४ को मृत्यु

झापा । रसुवामा गएको बाढीका कारण हालसम्म १ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ भने करिब ५ हजार मानिस अझै सम्पर्कविहीन छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २० गते मध्याह्न १२ बजेसम्म फेला परेका शवमध्ये १६ वटाको मात्रै सनाखत भई आफन्तलाई बुझाइएको छ।

Advertisement

​मृतकहरूमा सबैभन्दा बढी चितवनका ३६० जना छन्। यस्तै नवलपरासी पश्चिममा २३०, नवलपरासी पूर्वमा २२२, नुवाकोटमा १९२, रसुवामा १६०, गोर्खामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। काठमाडौँमा उपचारका क्रममा २ जनाको ज्यान गएको छ। फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालिका र ३३ बालक छन् भने ५०१ आंशिक अवशेष फेला परेको छ।

Advertisement

​बेपत्ता हुनेहरूमा नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, विदेशी नागरिक ५८९ र सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना रहेका छन्।

​विपद्‌पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी कुल २१ हजार ४ सय २ जना सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ३०३ जना विदेशी नागरिकसमेत छन्। नेपाली सेनाले हवाई र स्थल गरी ४,१६०, नेपाल प्रहरीले ४,०६८ र सशस्त्र प्रहरीले ४,८७० जनाको उद्धार गरेका छन्। उद्धारका लागि नेपाली सेनाले ९०१ पटक र निजी क्षेत्रले १२९ पटक हवाई उडान भरेका छन्।

​बाढीका कारण ५ हजार ६ सय ६३ जना घाइते भएका छन्। घाइतेहरूको नेपाली सेना, सशस्त्र प्रहरी र विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६ सय २७ जना आश्रित छन्।

भौतिक क्षति र राहत

प्राधिकरणको प्रारम्भिक आँकडा अनुसार बाढीबाट ७५७ वटा निजी घर, ४८ वटा सरकारी संरचना, १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ। यस्तै ५५ किलोमिटर सडक, ३७ वटा मोटोरेबल पुल (३३ वटा पूर्ण क्षति), ६८ वटा झोलुङ्गे पुल र १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीबाट घरधुरीका आधारमा ३२ हजार ९ सय ६३ जना प्रत्यक्ष प्रभावित भएका छन्।

​प्रभावित क्षेत्रमा काठमाडौँबाट ८० वटा ट्रक, ३८ वटा बोलेरो र हेलिकप्टर उडानमार्फत राहत सामग्री पठाइएको छ। सरकारले रसुवा र नुवाकोट जिल्लालाई १-१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)