सुरेन्द्र भण्डारी / झापा । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर झापामा लोकतान्त्रिक आन्दोलनका चार अग्रज राजनीतिक व्यक्तित्वलाई सम्मान गरिने भएको छ ।

गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान, गौरादह–५, बैगुन्धुराले ९० वर्षभन्दा माथिका राजनीतिक अभिभावकलाई उनीहरूकै निवासमा पुगेर सम्मान गर्ने कार्यक्रम तय गरेको हो ।सम्मानित हुनेमा कमल गाउँपालिका–२ का खड्गबहादुर ढुंगाना ९३ वर्ष, शिवसताक्षी नगरपालिका–११, दूधेका देउकुमार राई ९३ वर्ष, बिर्तामोड–३, बिर्ताबजारका डिल्लीप्रसाद सिटौला ९१ वर्ष र बिर्तामोड–३, आदर्श टोलका कृष्णबहादुर दाहाल ९६ वर्ष छन् ।

नेपाली राजनीतिको राणाशासनको अन्त्यपछिको संक्रमण, पञ्चायती व्यवस्था, भूमिगत राजनीतिक संघर्ष, जनमतसंग्रह, सत्याग्रह, २०४६ सालको जनआन्दोलन हुँदै बहुदलीय लोकतन्त्र स्थापनासम्मका विभिन्न चरणसँग जोडिएको उनीहरुलाई सम्मान गर्न लागिएको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानका सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।
प्रतिष्ठानले राजनीतिक जीवनमा लामो समय योगदान दिएका ज्येष्ठ व्यक्तित्वको अनुभव, त्याग र संघर्षलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले सम्मान गर्न लागेको जनाएको छ । उनीहरूलाई सम्मान गर्नु केवल व्यक्तिगत सम्मान नभई लोकतान्त्रिक आन्दोलनको इतिहास, संघर्ष र योगदानलाई संस्थागत रूपमा सम्झिने प्रयास भएको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष उत्तमवहादुर चम्लगाई खत्रीले बताए ।
कार्यक्रमअनुसार भदौ २४ गते बिहान कमल–२ पुगेर ९३ वर्षीय खड्गबहादुर ढुंगानालाई सम्मान गरिनेछ । त्यसपछि बिहान १० बजे शिवसताक्षी–११, दूधे पुगेर ९३ वर्षीय देउकुमार राईलाई सम्मान गर्ने कार्यक्रम छ ।
बिहान ११ः१५ बजे कनकाई–५, तुलसीबारीमा महामानव बीपी कोइरालाको सालिकमा माल्यार्पण गरिनेछ । त्यसपछि दिउँसो १ बजे बिर्तामोड–३, बिर्ताबजारस्थित ९१ वर्षीय कांग्रेसका अग्रज डिल्लीप्रसाद सिटौलाको निवास पुगेर सम्मान गरिनेछ । दिउँसो २ः१५ बजे सोही वडाको आदर्श टोलमा ९६ वर्षीय कृष्णबहादुर दाहाललाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि सुरेश सुब्बासहित कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको समन्वय प्रतिष्ठानका सचिव कुवेरपती पोखरेलले गरेका छन् ।
गिरिजाप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी लोकतान्त्रिक आन्दोलनका जीवित साक्षीहरूको अनुभवसँग जोड्ने प्रयास यस कार्यक्रमको विशेष पक्ष देखिन्छ ।
खड्गबहादुर ढुंगानाको स्थानीय नेतृत्व, देउकुमार राईको जेल तथा संघर्षको इतिहास, डिल्लीप्रसाद सिटौलाको लामो कांग्रेस राजनीति र कृष्णबहादुर दाहालको भूमिगत राजनीतिक गतिविधिलाई सहयोग गरेको अनुभव—यी चारवटा जीवनकथाले झापाको लोकतान्त्रिक राजनीतिको फरक–फरक पाटो देखाउँछन् ।
राजनीतिक परिवर्तनपछि नयाँ पुस्ताले लोकतन्त्रलाई स्वाभाविक उपलब्धिका रूपमा लिइरहेको अवस्थामा आन्दोलनका क्रममा जेल बसेका, भूमिगत भएका, संगठन निर्माण गरेका र स्थानीय तहमा जनताको नेतृत्व गरेका अग्रजको अनुभव अभिलेख गर्नु आवश्यक देखिन्छ । यही सन्देशसहित प्रतिष्ठानले उनीहरूको घरमै पुगेर सम्मान गर्न लागेको हो ।
स्थानीय नेतृत्वदेखि लोकतान्त्रिक आन्दोलन हाक्ने को हुन् ः खड्गबहादुर ढुंगाना ?
धनकुटा जिल्लाको पात्लेबाट वि.सं. २०१४ सालमा झापा आएका खड्गबहादुर ढुंगानाको राजनीतिक र सामाजिक जीवन झापाको स्थानीय विकास तथा लोकतान्त्रिक आन्दोलनसँग जोडिएको छ ।
झापा आएपछि तत्कालीन तोपगाछी गाविस–३ मा बसोबास गरेका ढुंगाना पटक–पटक वडा अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय तहको नेतृत्वमा रहँदै उनले सामाजिक तथा शैक्षिक विकासमा समेत भूमिका निर्वाह गरेका व्यक्तित्व हुन् । उनी जिल्ला सभाको उपाध्यक्षसम्म बनेका थिए ।
स्थानीय जनताको प्रतिनिधिका रूपमा लामो समय काम गरेका ढुंगानाले राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणको अभियानमा समेत योगदान पु¥याएका थिए । २०१६ सालतिर मोरङ क्षेत्रमा फडानीसम्बन्धी जिम्मेवारीसमेत निर्वाह गरेको उल्लेख छ ।
ढुंगानाको योगदानलाई प्रतिष्ठानले स्थानीय राजनीतिक नेतृत्व, सामाजिक सेवा र लोकतान्त्रिक चेतनाको विकाससँग जोडेर हेरेको छ । लामो समयसम्म सार्वजनिक जीवनमा सक्रिय रहेका उनी अहिले कमल–२ मा बसोबास गर्दै आएका छन् ।
९३ वर्षको उमेरमा पनि राजनीतिक तथा सामाजिक जीवनका अनुभव बोकेर बसेका ढुंगानाको सम्मानलाई प्रतिष्ठानले नयाँ पुस्ताले पुरानो पुस्ताको संघर्ष र योगदान बुझ्ने अवसरका रूपमा लिएको छ ।
जेल, भूमिगत जीवन र लोकतन्त्रप्रतिको अविचल विश्वास बोक्ने को हुन् । देउकुमार राई ?
देउकुमार राईको राजनीतिक जीवन प्रत्यक्ष संघर्षसँग जोडिएको छ । पञ्चथर, धनकुटा र काठमाडौंका जेलमा पटक–पटक बसेका राईले पञ्चायती शासनविरुद्धको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
वि.स. २०१८ र २०३० सालका सशस्त्र राजनीतिक संघर्षका क्रममा उनी पक्राउ परेर विभिन्न ठाउँका कारागारमा राखिएको थियो । काठमाडौंको केन्द्रीय कारागारमा समेत उनले जेल जीवन बिताएका थिए । राजनीतिक बन्दीका रूपमा उनको नाम ‘रातो किताब’मा समेत अभिलेख गरिएको उल्लेख छ ।
राई लोकतान्त्रिक आन्दोलनका क्रममा प्रजातान्त्रिक सैनिक संघको केन्द्रीय प्रतिनिधि तथा नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय सदस्यका रूपमा समेत सक्रिय रहेको बताइएको छ ।
पञ्चायतविरुद्धको संघर्षमा जेल र भूमिगत जीवन बिताएका राईले राजनीतिक परिवर्तनका विभिन्न चरणमा निरन्तर सक्रियता देखाएका थिए । उमेरले ९० वर्ष पार गरिसक्दा पनि लोकतन्त्रप्रतिको उनको विश्वास र राजनीतिक संघर्षको अनुभवलाई सम्मानको मुख्य आधार बनाइएको छ ।
प्रतिष्ठानले राईलाई सम्मान गर्नुको उद्देश्य उनको व्यक्तिगत योगदानलाई सम्झिनुका साथै राजनीतिक परिवर्तनका लागि पुरानो पुस्ताले भोगेको जेल, निर्वासन, भूमिगत जीवन र संघर्षबारे नयाँ पुस्तालाई जानकारी गराउनु रहेको जनाएको छ ।
१७ वर्षमै कांग्रेसको राजनीतिमा, सत्याग्रहदेखि राष्ट्रिय सभासम्म : डिल्लीप्रसाद सिटौला
झापाको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका डिल्लीप्रसाद सिटौला जिल्लाका पुराना कांग्रेस नेताका रूपमा चिनिन्छन् । १७ वर्षको उमेरमै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका सिटौलाको राजनीतिक यात्रा पञ्चायतविरोधी आन्दोलनका अनेक चरणसँग जोडिएको छ ।
२०१० सालमा बीपी कोइरालाको भाषणबाट प्रभावित भएर उनले राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि नेपाली कांग्रेसको सदस्यता लिएर लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा सक्रिय भए ।
२०१९ र २०३३ सालमा भूमिगत जीवन बिताएका सिटौलाले वि.सं. २०३६ सालको जनमतसंग्रहका क्रममा झापाको जनआन्दोलन परिचालन समितिको सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । २०४२ सालको सत्याग्रह आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत उनले जेलसमेत भोगे ।
२०४६ सालको पञ्चायतविरोधी आन्दोलनमा उनी कमान्डरका रूपमा सक्रिय रहेको पाइन्छ । त्यसपछि मुलुकमा बहुदलीय लोकतन्त्र स्थापना भएपछि पनि उनले सक्रिय राजनीति जारी राखे । २०४८ सालको आमनिर्वाचनपछि राष्ट्रिय सभाको सदस्यसमेत निर्वाचित भएर देशको राजनीतिक सेवामा योगदान पु¥याए ।
सिटौलाको जीवन राजनीतिक संघर्षमा निरन्तर सक्रिय रहेको उदाहरणका रूपमा प्रतिष्ठानले लिएको छ । लोकतन्त्रका लागि जेल, भूमिगत जीवन र आन्दोलनको नेतृत्व गरेका कारण उनलाई झापाको राजनीतिक अभिभावकका रूपमा सम्मान गर्न लागिएको हो ।
भूमिगत नेताका लागि सहयोगदेखि स्थानीय नेतृत्वसम्म हाक्ने को हुन् कृष्णबहादुर दाहाल ?
९६ वर्षीय कृष्णबहादुर दाहालको राजनीतिक जीवन झापाको वाम तथा लोकतान्त्रिक राजनीतिक गतिविधिको पुरानो इतिहाससँग जोडिएको छ । वि . स . २००७ सालदेखि झापाको विराटपोखरातिर बसोबास गर्दै आएका दाहाल वि . स . २०२५ सालदेखि बिर्तामोड–३, आदर्श टोलमा बस्दै आएका छन् ।
दाहाललाई समाजवादी चिन्तक सीके प्रसाईंसँग अत्यन्त नजिक रहेर काम गरेका राजनीतिक तथा सामाजिक कार्यकर्ताका रूपमा परिचित छन् । वि.स. २०१७ सालको राजनीतिक परिवर्तनपछि भूमिगत तथा प्रवासमा रहेका नेताहरूलाई सहयोग जुटाउने काममा उनको भूमिका रहेको बताइएको छ ।
त्यतिबेला राजनीतिक गतिविधि सहज नभएको अवस्थामा भूमिगत नेताहरूलाई आर्थिक तथा अन्य सहयोग जुटाउने र उनीहरूबाट प्राप्त राजनीतिक पर्चा तथा सामग्री विभिन्न माध्यमबाट सम्बन्धित ठाउँमा पु¥याउने काममा दाहाल सक्रिय रहेको सम्मानपत्रमा उल्लेख छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि उनी तत्कालीन अनारमनी गाविसको वडा अध्यक्षमा निर्वाचित भएका थिए। स्थानीय जनप्रतिनिधिका रूपमा समेत काम गरेका दाहालले लामो समयसम्म राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रियता देखाए।
उनी लोकतान्त्रिक आन्दोलनका प्रत्यक्ष अगुवा मात्र नभई आन्दोलनलाई टिकाइराख्न स्थानीय तहबाट सहयोग गर्ने पुस्ताका प्रतिनिधि हुन्। त्यसैले उनको सम्मानलाई राजनीतिक पदभन्दा बाहिर रहेर आन्दोलनलाई सहयोग गर्ने हजारौं कार्यकर्ताको योगदान सम्झिने अवसरका रूपमा पनि लिन सकिन्छ ।
