हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

यूएईलाई पराजित गर्दै नेपाल लगातार दोस्रो पटक एसिया कपमा छनोट, आसिफको शतक र करण-ललितको घातक बलिङ

झापा । मलेसियामा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल भिडन्तमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो पटक एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। शनिबार भएको रोमाञ्चक फाइनल खेलमा विजय हासिल गर्दै नेपालले सन् २०२३ मा घरेलु मैदानमा जितेको प्रिमियर कपको उपाधिसमेत सफलतापूर्वक रक्षा गरेको हो।

Advertisement

​टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रनको उच्च योगफल तयार पारेको थियो। नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले १ सय ६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १ सय २ रन बनाए। आसिफलाई पहिलो विकेटका लागि अर्जुन कुमालले ९७ रनको साझेदारी गर्दै गतिलो साथ दिएका थिए। अर्जुनले ४३ रन जोडे।

Advertisement

​त्यस्तै, मध्यक्रममा कप्तान रोहित पौडेलले ४० रन तथा आक्रामक ब्याटिङ गरेका गुलशन झाले मात्र ३८ बलमा ५२ रनको योगदान दिएपछि नेपाल मजबुत स्थितिमा पुगेको थियो।

​३ सय १४ रनको फराकिलो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको यूएईको टोली नेपाली बलरहरूको कसिलो बलिङका अगाडि टिक्न सकेन। यूएई ४९.२ ओभरमा २ सय ६९ रनमा अलआउट हुन पुग्यो। यूएईका लागि राहुल चोपराले १ सय ५ बलमा १ सय रनको अविजित शतकीय योगदान दिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

​नेपालका तर्फबाट करण केसीले ४९ रन खर्चेर ३ विकेट र ललित राजवंशीले ४३ रन खर्चेर २ विकेट लिएका थिए।

​यो उपाधि जितसँगै नेपालले आगामी वर्ष बंगलादेशमा आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने बाटो पक्का गरेको छ। तस्बिर: CAN

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)