समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतीय सिमाका कुख्यात हतियार र लागुऔषधका कारोबारी बग्गा गिरफ्तार

देवेन्द्रकिशोर ढुंगाना झापा । सुनसरी र मोरङका बिभिन्न नाकाहरुको प्रयोग गरेर हतियार तथा लागूऔषध कारोबारी गर्ने गिरोहको नाइके पक्राउ परेका छन । लामो समयदेखि यस क्षेत्रको नाकाको प्रयोग गरेर हतियार र लागुऔषधको कारोवार गर्दै आएका बग्गा भनिने भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मस्ट वान्टेडको सूचीमा रहेका हतियार कारोबारी बग्गा भनिने प्रदीप यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ । भारत बिहार राज्य अररियाको ईन्द्रनगर ग्राम पञ्चायत–१० बस्ने ३९ वर्षिय बग्गा सुनसरी–मोरङमा हतियार र तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके हुन् । उनी प्रहरीको मस्ट वान्टेड सूचीमा थिए । उनलाई प्रहरीले शनिबार दिउँसो साढे ४ बजे विराटनगर–१६ दरैयाबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरीले बग्गाको साथबाट लागूऔषध पनि बरामद गरेको छ । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बग्गासँग उनको एक समूह नै सुनसरी र मोरङ क्षेत्रमा हतियार र लागुऔषधको कारोवारमा सक्रिय रहेको थियो । उनीहरुले सुनसरीको पूर्वि नाका र मोरङको पश्चिमी नाकाबाट आफ्नो कारोवार सञ्चालन गर्दै आएको बताईएको छ । बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धा मोरङमा विचाराधीन छ ।

प्रहरीका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने प्रहरीको विश्वास छ । शनिबार मध्यान्न नेपाल प्रवेश गरेका यादवसँग प्रहरीको विराटनगर– १६ दरैयामा जम्काभेट भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका उनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दार सामान्य घाइते भएका छन् । घम्साघम्सी हुँदा बग्गाको शरीरमा सामान्य चोट लागेको प्रहरीको भनाइ छ । पक्राउ गर्नेक्रममा भाग्न खोजेपछि सामान्य बल प्रयोग भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । बग्गाले २०७५ मंसिर ३ र ८ गते हतियारसहित पठाएका भरिया विराटनगरबाट पक्राउ परेका थिए ।

           त्यस्तै ३ मंसिरमा विराटनगर– १६ बाट उदयपुरको उदयपुरगढी गाउँपालिका– १९ का मन्दिप तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका– १२ का ३५ वर्षका सुशीलकुमार साहु पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परे । ८ मंसिरमा विराटनगर बसपार्कबाट दुई जना भरिया र पेस्तोल बुझ्न काठमाडौंबाट आएका अर्का भरिया पक्राउ परेका थिए ।

उनीहरुबाट प्रहरीले बग्गाको कारोवारको ठोस प्रमाण जुटाएको थियो । उनले पेस्तोल र लागूऔषध विराटनगर – १६ का २२ वर्षका विद्यानन्द मण्डल र २० वर्षका अनुप गिरीको पेटमा टेपले बाँधेर १०५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर, ३८० एम्पुल लागूऔषध, कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली पठाएका थिए । विराटनगर वसपार्कबाट हतियार लिन आएका सुनसरी धरान घर भई ललितपुर– एकान्तकुनामा बस्दै आएका ४१ वर्षका रुपम राईसहित दुईजना भरिया पक्राउ परेका थिए ।,

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article