बलिउडका महानायक अमिताभ बच्चनको घरमा बम रहेको हल्ला फैलाउने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुम्बई पुलिसको क्राइम ब्रान्चले २ जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुबै जनाले रक्सी खाएको तालमा राती पुलिस कन्ट्रोलको फोन नम्बरमा फोन गरेर मुम्बईको चार ठेगानामा बम राखिएको बताएका थिए । फोन गर्ने ब्यक्तिहरुले पुुलिसलाई मुम्बईको सीएसटी, भायखला, दादर तथा अभिनेता अमिताभ बच्चनको घरमा बम राखिएको बताएका थिए ।
त्यसपछि मुम्बइ पुलिस पुरै अलर्टमा आएको थियो । साथै बीडीडीएसको टिमले हरेक ठाउँमा जाँच गरेको थियो । यसै दौरानमा जब पुलिसले फोन गर्ने ब्यक्तिलाई दोस्रो पटक अलि बढि जानकारी माग्दा उनीहरुले आफुलाई झन्झट नदिन आग्रह गर्दै फोन काटि दिएका थिए । त्यस पछि उनीहरुले आफ्नो मोबाइल बन्द गरेका थिए ।
पुलिस सुत्रका अनुसार अमिताभ बच्चनको मुम्बइमा ४ वटा घरहरु रहेका छन् यसमा कुन चाहि घरमा भन्ने फोन गर्ने ब्यक्तिले जानकारी दिएका थिएनन् । यसका कारण जुहु पुलिसले अमिताभ बच्चनको चार वटै घरमा जाँच गरिएको थियो । अमिताभ भने जलसा बंगलामा बस्दै आएका छन् ।
यो फेक कल हो भन्ने आशंका गर्दै भए पनि त्यहाँ पनि अमिताभ बच्चनलाई कुनै तनाव नदिई पुलिसले जाँच गरेको थियो । जतिबेला अमिताभ बच्चन सुतिरहेका थिए । उनको परिवार लाई थाहा नै नदिई घरको वरीपरि जाँच गरेको थियो । जब यो फेक कल हो भन्ने थाहा भयो त्यहाँ बाट पुलिसहरु फर्किएका थिए ।
पुलिसले कल लोकेसनको आधारमा फोन गर्ने २ ब्यक्ति लाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका दुई ब्यक्तिहरुमा राजु कांगने तथा रमेश सिरसाठ रहेका छन् । दुबै जनाले आफुहरुले नशाको तालमा फोन गरेको स्वीकार गरेका थिए ।

















