काठमाडौं, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल तालमेल गर्ने सम्भावना नरहेको बताएका छन् । आज (बिहीबार) बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले नेकपा एमालेसँग तत्काल तालमेल गर्ने सम्भावना नरहे पनि नेपाली कांग्रेसले माओवादीलाई लखेट्न खोजेमा एमालेसँग तालमेल गर्ने ढोका बन्द नभएको बताएका छन् । एमालेसँग चुनावी तालमेल र सहकार्यबारे पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘हामी गठबन्धनलाई चुनावसम्म लाने उद्देश्यमा छौं । यसमा नेपाली काँग्रेसको व्यवहारमा भर पर्ने कुरा हो । राजनीतिमा असम्भव भन्ने पनि हुँदैन । मैले संसदबाट भनेको छु, राजनीतिमा असम्भव भनेको छैन, सम्भावनाको खेल हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाली काँग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भन्नु भएकाले यसलाई गठबन्धनले सकारात्मक रुपमा लिएको बताए । उनले भने, ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’ त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी दिए । तालमेलबारे नेपाली काँग्रेसका केही नेताको टिप्पणीबारे पनि प्रचण्डले असन्तुष्टि जनाए ।