समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं.२ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

Advertisement

पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल भएको स्थानीयवासीको गुनासोे छ । ट्रयाक खुलेको १४ वर्ष वितिसक्दा पनि यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कसैले चासो नै दिएको छ । सडक मर्मतका लागि अहिलेसम्म करिब एक करोड खर्च भइसके पनि सडकको अवस्था भने झन खराब हुँदै गइरहेको छ । बेनी–भकुण्डे सडकको ट्रयाक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर र मोटरसाइकलबाहेक ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

Advertisement

स–साना सवारीसाधन पनि पानी नपर्दा र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको ज्यामरुककोटका यामबहादुर थापाले बताउनुभयो । “साना सवारी साधन वर्षका चार महिनामात्र मुस्किलले सञ्चालन हुन्छन्, न यो सडकबाट कुनै बस गुडेको छ, न त मालबाहक ठूलो ट्रक” उहाँले भन्नुभयो, “मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।”

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासीको भनाइ छ । उक्त बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको गुनासोका सम्बन्धमा वडा नं.२ का पूर्वअध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती र वन क्षेत्र रहेकाले उक्त मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो ।

सडक स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने देखिएको र नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने सोही वडाका नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article