समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी’ अभियान प्रारम्भ

बनियानी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग नयाँ एकता गर्ने संकल्पका साथ पार्टीले विशेष अभियान सुरू गरेको बताउनुभएको छ। झापाको कचनकवलमा आयोजित ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने महाअभियानमा पार्टी लागिपरेको उल्लेख गर्नुभयो।

Advertisement

अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँगको सहकार्यले ती दलहरू मात्र बलियो बनेको भन्दै अबदेखि माओवादी केन्द्र जनता स्वयंको साथमा रहने बताउनुभयो। उहाँले भन्नुभयो, “अब जनतासँग सहकार्य गर्छौं, जनताको ताकतबाट भ्रष्टहरुलाई तह लगाएर समृद्ध नेपाल बनाउँछौं।” आगामी २०८४ को चुनावमा माओवादी केन्द्र एक्लै चुनाव लडेर देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्य लिएको उहाँले बताउनुभयो।

Advertisement

उहाँले सरकारमा सहभागी नहुने घोषणा गर्दै, “हामी सरकारमा होइन, जनतामा जान्छौं, उत्पीडित वर्ग र समुदायमा जाँछौं,” भन्दै भ्रष्टाचारमुक्त राज्य निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो।

अध्यक्ष प्रचण्डले सीमा क्षेत्रका उत्पीडित वर्ग र समुदायका समस्या बुझ्ने उद्देश्यले ‘हुलाकी मार्ग अभियान’ सञ्चालन गरिएको बताउनुभयो। साथै, मध्यपहाडी राजमार्ग हुँदै पहाड र हिमालसम्म पुगेर राष्ट्रिय एकता सुदृढ गर्ने र देशलाई नयाँ सन्देश दिने घोषणा गर्नुभयो।

झापा क्षेत्रका स्थानीय समस्याबारे बोल्दै उहाँले निम्न प्रतिबद्धताहरू जनाउनुभयो:

  • झापाको हात्ती समस्या समाधान गर्न पहल
  • साना किसानको डिमाण्ड चार्ज घटाउने
  • चिया मजदुरहरूको समस्या समाधान गर्दै राशन कार्ड उपलब्ध गराउने
  • सहिद प्रतिष्ठान निर्माण
  • सहिद सुनिल मार्गको कालोपत्रे
  • सुकुम्बासी समस्या समाधान
  • खानेपानी व्यवस्थापन

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनका उपलब्धिहरूको चर्चा गर्दै भन्नुभयो, “निरंकुश राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापनासँगै तीन तहको सरकार सञ्चालनको अवस्था प्राप्त भइसकेको छ।” स्थानीय तहमा ४० प्रतिशत र प्रदेश तथा संघमा ३० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भइसकेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले सामाजिक र आर्थिक रुपान्तरणलाई प्राथमिकता दिने बताउँदै, “सामाजिक न्याय र विकासलाई तीव्र गतिमा अघि बढाएर सबैले लाभ लिन सक्ने व्यवस्था गर्न चाहन्छौं,” भन्नुभयो।

अभियानको क्रममा अध्यक्ष प्रचण्डले नेपालको सबैभन्दा होचो भूभाग झापा, कचनकवलमा राष्ट्रिय झण्डा फहराउनुभयो। उहाँले कचनकवललाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सरकार र स्थानीय नागरिकको अग्रसरता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा जनयुद्धका क्रममा सहिद भएका तोपलाल राजवंशी, ओम अधिकारी, गंगा मिश्र र सुनिल राजवंशीका परिवारलाई सम्मान गरिएको थियो।

नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियानमार्फत जनता र पार्टीबीचको सम्बन्ध बलियो बनाउने लक्ष्य लिएको छ। भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, उत्पीडित वर्गका समस्याहरू समाधान गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने र सरकारको सहभागिताभन्दा प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिने रणनीति माओवादी केन्द्रले अघि सारेको देखिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article