मोरङ, मंगलबार । मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ। स्थानीय कदमा गाउँ, वार्ड नं. ६ मा दिउँसो लागेको आगोका कारण हालसम्म आठ घर जलेर नष्ट भइसकेका छन्।
प्रहरीका अनुसार जलेर मृत्यु भएका बालबालिकाको परिचय अझै खुल्न सकेको छैन। घटनास्थलमा स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ।
मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भइरहेको छ। दमकल, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको अथक प्रयासका बाबजुद आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।
स्थानीय प्रशासनले आगलागीको कारण पत्ता लगाउने तथा पीडित परिवारलाई आवश्यक राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। यस घटनाले गाउँमा ठूलो क्षति पुर्याएको छ भने प्रभावित परिवारहरू गहिरो शोकमा डुबेका छन्।