समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

निलबाराही जंगलमा सय रुपैयाँकै लागि हत्या: एक अभियुक्त पक्राउ

भक्तपुर, चैत १२ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडेस्थित निलबाराही जंगलमा चैत १० गते एक पुरुषको शव फेला परेको थियो। अनुसन्धानका क्रममा मृतक ६६ वर्षीय ओमप्रकाश राई भएको पुष्टि भएको छ। उनी खोटाङको केपिलाशगढी गाउँपालिका–२ का स्थायी बासिन्दा थिए तर हाल भक्तपुरको बोडेस्थित कमलपोखरीमा बस्दै आएका थिए। उनी प्लास्टिक तथा बोत्तल संकलन गर्दै जीविकोपार्जन गर्थे।

Advertisement

प्रहरीका अनुसार, राईको शव टाउकोमा गहिरो चोट लागेको अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानले उनी ढुंगाको प्रहारबाट मारिएको खुलासा गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रोल्पाको परिवर्तन गाउँपालिका–६ निवासी ५७ वर्षीय हिमाल बुढा मगरलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा बुढा मगरले अपराध स्वीकार गर्दै प्रहरीसमक्ष बयान दिएका छन्।

Advertisement

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार, चैत ९ गते साँझ ओमप्रकाश राई र हिमाल बुढा मगरले निलबाराहीस्थित एक भट्टीमा बसेर पाँच–छ गिलास रक्सी पिएका थिए। त्यसपछि सुत्न जाने क्रममा उनीहरूबीच विवाद भएको थियो।

“ओमप्रकाश राईले मेरो साथमा रहेको सय रुपैयाँ खोसेर लिए। मैले फिर्ता माग्दा उनले पैसा हातमा च्यापेर बसे। त्यसपछि मैले उनलाई भुइँमा लडाएँ र नजिकै रहेको ढुंगा उठाएर पटक–पटक टाउकोमा प्रहार गरेँ,” बुढा मगरको भनाइ उद्धृत गर्दै डिएसपी न्यौपानेले बताए।

हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article