काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अब स्वास्थ्य परीक्षणका लागि ९,५०० रुपैयाँ तिर्नुपर्ने भएको छ। सरकारले यसअघि ६,५०० रुपैयाँ रहेको शुल्कमा ३,००० रुपैयाँ वृद्धि गर्दै नयाँ दर तोकेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ कार्यविधि स्वीकृत गर्दै परीक्षण सेवालाई गुणस्तरीय बनाउन ३४ प्रकारका परीक्षणलाई अनिवार्य बनाएको छ।
तर, स्वास्थ्य परीक्षण गराउँदै आएका व्यवसायीहरूले भने सरकारसँग कुनै छलफल नै नभएको गुनासो गरेका छन्। नेपाल वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघका अनुसार यस विषयमा छलफल भइरहेको छ।
श्रमिकहरूका लागि राहदानी, टिकट, तालिम, बिमा लगायतका खर्चहरू पहिले नै थुप्रै हुने भएकाले थप शुल्क वृद्धिले गरिब तथा विपन्न वर्गलाई आर्थिक भार पर्ने आलोचना भइरहेको छ। मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार यो कदम श्रमिकको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण छ भने शुल्कलाई पारदर्शी बनाउन प्याकेज प्रणाली लागू गरिएको हो।
सरकारले परीक्षण संस्थाहरूको नियमनलाई प्रभावकारी बनाउन पनि नयाँ व्यवस्था लागू गरेको छ। सूचीकृत स्वास्थ्य संस्थाहरूले सूचना प्रकाशित भएको मितिदेखि दुई महिनाभित्र आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ, अन्यथा सूचीकरण खारेज गरिनेछ।
त्यस्तै, स्वास्थ्य परीक्षण प्रणालीलाई आधुनिक बनाउन विद्युतीय प्रणालीमार्फत रिपोर्ट अपलोड गर्ने अनिवार्यता लागू गरिनेछ। वैदेशिक रोजगारीमा जाने श्रमिकको अन्तिम स्वीकृति अब स्वास्थ्य परीक्षण प्रतिवेदन अनलाइन अपलोड गरेपछि मात्रै प्रदान गरिनेछ।
स्वास्थ्य सचेतना बढाउने उद्देश्यले पूर्वप्रस्थान तालिममा स्वास्थ्यसम्बन्धी नयाँ विषय समावेश गर्न वैदेशिक रोजगार बोर्डलाई पत्राचार गरिएको छ। मन्त्रालयले श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै विशेषज्ञ समितिको सिफारिसअनुसार स्वास्थ्य परीक्षण प्रणाली सुधार गर्ने निर्णय गरेको जनाएको छ।