झापा । ताप्लेजुङ घर भई झापा जिल्ला, कनकाई नगरपालिका–३, सुरुङ्गास्थित ध्रुव श्रेष्ठको तीनतले पक्की घरको दोस्रो तलामा डेरा गरी बस्ने ८१ वर्षीया बाटुली माया दाहालको निधन भएको छ।

गत श्रावण २२ गते बिहान ७:१५ बजे खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिकेज हुँदा आगलागी भई दाहालको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक भएको थियो। तत्कालै उनलाई उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गा लगिएकोमा थप उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल रेफर गरिएको थियो। अवस्था गम्भीर रहँदा पुनः काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिई उपचार गरिएको थियो।

चिकित्सकको सल्लाह अनुसार २०८२ भदो २ गते घर ल्याइएकी दाहालको भदौ ५ गते बिहान १०:४० बजे मृत्यु भएको हो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेचि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। सो आगलागीबाट करिब रु. २ लाख बराबरको क्षति भएको समेत प्रहरीको प्रारम्भिक अनुमान छ।