भद्रपुर । भद्रपुर नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा इस्ट पोइन्ट बोर्डिङ स्कुलकी श्रद्धा नेपाल प्रथम भएकी छन् ।

झापाको सदरमुकाम चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा भद्रपुर नगरपालिका भित्रका २६ विद्यालयका छात्रछात्राले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा “वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता” विषयमा प्रतिस्पर्धीहरूले आफ्नो वक्तृत्व प्रस्तुत गरेका थिए ।

कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का सङ्घीय सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि थिए भने समितिका अध्यक्ष नवीन भट्टराई सभापतिमा र कमलनयन निरौला कार्यक्रम संयोजक रहेका थिए । प्रतियोगितामा इस्ट पोइन्ट बोर्डिङ स्कुलकी कक्षा १० की छात्रा नेपाल प्रथम भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै, ग्यालेक्सी अङग्रेजी स्कुलका सिर्जन तामाङ द्वितीय भए । उनले नगद ७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाए । श्रीकृष्ण द्धैपायन गुरुकुल वेदविद्याश्रमका प्रतीक नेपाल तृतीय बनेका छन् । उनले नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

निर्णायक मण्डलमा साङ्गवेद संस्कृत मावि चारपाने बिर्तामोडका प्राध्यापक सोमनाथ गौतम, मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख देवीप्रसाद आचार्य र अधिवक्ता लक्ष्मी खनाल कोइरालाले भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लिङ्गदेन, नगर उपप्रमुख राधा कार्की, समितिका केन्द्रीय महासचिव खगेन्द्र निरौला, धार्मिक गुरु हिमाल बेघा र पेमा लामाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण पत्रकार केशव भट्टराईले गरेका थिए भने औचित्यमाथि समितिका सचिव उदय खनालले प्रष्ट पारेका थिए । प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः भद्रपुर मारवाडी महिला मञ्च परिवार, हल्दीबारी–२ का कुमार भण्डारी र समितिका उपाध्यक्ष तथा पत्रकार उत्तम नेपालले सौजन्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार