समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

हल्दीबारी: विद्वंशको बीचमा शान्तिको उदाहरण

नेत्रविक्रम बिमली । यही भदौ २३ र २४ गते देशभरि भड्किएको जेन्जी आन्दोलनले खरबौँको सम्पत्ति नष्ट गर्‍यो। नगरपालिका, गाउँपालिका, सरकारी कार्यालयदेखि निजी उद्योग व्यवसायसम्म आन्दोलनको नाममा आगजनी, लुटपाट र तोडफोडले देशलाई अन्धकारमा धकेलेको छ। तर, यसैबीच झापाको हल्दीबारी गाउँपालिका भने अपवाद बनेर उभिएको छ।

आन्दोलनकै समयमा बिर्तामोडमै बसेर वैदेशिक रोजगारीको तयारी गरिरहेका हल्दीबारी–२ का अनिश श्रेष्ठ छातीमा गोली लागेर घाइते भए। त्यस्तै, गाउँपालिकाका प्राविधिक कर्मचारीले प्रयोग गर्ने मोटरसाइकल आन्दोलनकारीले बिर्तामोडमा जलाए। तर, हल्दीबारी गाउँपालिका भित्र भने कुनै पनि सरकारी वा निजी संरचना जलाइएन, न त लुटपाट भयो।

विज्ञापन (Advertisement)Advertisement

हल्दीबारीसँग जोडिएका भद्रपुर, बिर्तामोड, कचनकवल र बारदशीमा आन्दोलनकै नाममा घुसपैठ गर्ने समूहहरूले अराजकता मच्चाउँदा हल्दीबारी शान्त रहनु विशेष सन्देश हो। यसमा यहाँका सचेत नागरिक, राजनीतिक दल, जनप्रतिनिधि र विशेषगरी आन्दोलनमा राजनैतिक स्वार्थ प्रवेश नदिन सक्ने जेन्जी युवाहरूको ठूलो योगदान छ।

साँचो कुरा त के हो भने, घुसपैठकारी समूहले हल्दीबारीलाई पनि विद्वंशतर्फ धकेल्न खोजेका थिए। तर, यहाँका युवाहरूले आगजनी–तोडफोडमा भाग नलिने निर्णय लिएपछि हल्दीबारीलाई ध्वंसबाट जोगाइयो। यो नै सन्देश हो– यदि सचेतता र एकता हुन्छ भने, आन्दोलन विनाशकारी होइन, परिवर्तनकारी बन्न सक्छ।

तर, यो शान्ति देखेर ढुक्क हुनुहुँदैन। हल्दीबारीबासीले देखाएको संयमता र विवेकलाई देशका अन्य स्थानहरूले पनि अनुकरण गर्न जरुरी छ। अन्यथा, आन्दोलन सदैव घुसपैठकारीहरूको हतियार बन्ने खतरा कायम रहन्छ।

हल्दीबारीलाई ध्वंसबाट जोगाउन जो जसले भूमिका निर्वाह गर्नुभयो, उनीहरूलाई धन्यवाद दिनैपर्छ। त्यसभन्दा ठूलो सन्देश, जेन्जी पुस्ताले दिएको चेतावनी हो— “आन्दोलन गर्न सकिन्छ, तर तोडफोड र आगजनी होइन।”

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)