समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

कचनकवल गाउँपालिकाको आकस्मिक बैठक, सेवा सञ्चालन अस्थायी भवनबाट हुने

कचनकवल : देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण कचनकवल गाउँपालिकामा भएको क्षति, सेवा अवरोध र शान्ति सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै पालिकाले आज आकस्मिक बैठक बसेर महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले गाउँपालिकाको मुख्य प्रशासनिक भवन र अन्य कार्यालयहरूमा ठूलो क्षति पुगेको कारण तत्काल सेवा सञ्चालन गर्न वडा नं. ६ स्थित १५ शैयाको आधारभूत अस्पताल भवनलाई अस्थायी गाउँपालिका कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। वडा नं. ४, ५, ६ र ७ का क्षतिग्रस्त कार्यालयहरूको प्राविधिक मूल्याङ्कन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न पूर्वाधार विकास शाखा प्रमुखको संयोजनमा टोली गठन गरिएको छ।

विज्ञापन (Advertisement)Advertisement

बैठकले आन्दोलनका क्रममा तोडफोड, आगजनी वा लुटपाटमा संलग्न देखिएका कर्मचारी वा शिक्षकमाथि छानबिन गरी दोषी ठहरिएका करार सेवाका कर्मचारीलाई तत्काल सेवा खारेज गर्ने र स्थायी कर्मचारी वा शिक्षकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने निर्णय गरेको छ।

अत्यावश्यक सेवामा अवरोध नहोस् भन्नका लागि क्षतिग्रस्त वडा कार्यालयहरूलाई सफा गरी व्यवस्थापन गरेर सेवा सुरु गर्ने र वडा नं. १, २ र ३ बाट भने पूर्ववत सेवा निरन्तरता दिने व्यवस्था मिलाइनेछ।

बैठकले आन्दोलनमा शहीद भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। साथै गाउँबासीलाई शान्ति सुरक्षामा सहयोग गर्न आव्हान गरिएको छ।

निकटै आउने चाडपर्वलाई ध्यानमा राख्दै बजारमा सम्भावित कालोबजारी नियन्त्रण गर्न विशेष पहल गर्ने र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।

सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैठकले तोडफोड र आगजनीसँग सम्बन्धित फोटो, भिडियो, सीसीटीभी फुटेज लगायत प्रमाणहरू प्रशासनलाई उपलब्ध गराई दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार, बैठकले सर्वसम्मत निर्णयहरू पारित गर्दै सम्पन्न भएको हो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)