कचनकवल, ११ असार । ​झापाको कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ७२ करोड ५२ लाख ७६ हजार ४ सय ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष नवराज भट्टराईले आगामी वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो।

​प्रस्तावित बजेटमा चालुतर्फ ४५ करोड ७० लाख ९७ हजार रुपैयाँ र पूँजीगततर्फ २६ करोड ८१ लाख ७९ हजार ४ सय ९२ रुपैयाँ विनियोजन गरिएको छ।

​गाउँपालिकाले सङ्घीय सरकार र कोशी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँट र सवारी करका साथै आन्तरिक स्रोतबाट १४ करोड २७ हजार ५१३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

​कृषिमा विशेष जोड: ‘खेत-खेतमा बिजुली, कृषिमा उजेली’ – ​गाउँपालिकाले यस वर्ष “उत्पादन, रोजगार, पर्यटन र पूर्वाधार: कचनकवल विकास र समृद्धिको आधार” भन्ने मुख्य अभियानलाई बजेटको केन्द्रमा राखेको छ। कृषि उत्पादन वृद्धि गर्न ‘खेत-खेतमा बिजुली, कृषिमा उजेली’ कार्यक्रम अन्तर्गत ७ वटै वडामा विद्युतीकरणका लागि २ करोड १० लाख रुपैयाँ छुट्याइएको छ।

​बजार व्यवस्थापनका लागि १ करोड ५० लाख तथा कृषि यन्त्रीकरण, डिप बोरिङ, माटो परीक्षण र पशु स्वास्थ्य लगायतका क्षेत्र समेटेर कृषि तथा पशु विकासमा कुल ४ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

​थप १५ किलोमिटर सडक कालोपत्रे गरिने : ​पूर्वाधार विकासलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १० करोड ६० लाख रुपैयाँको लागतमा गाउँपालिका क्षेत्रभित्र थप १५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिने भएको छ। यसका लागि विभिन्न वडाका १४ वटा सडक योजनाको स्रोत सुनिश्चित गरिएको छ। यस्तै, आपतकालीन पूर्वाधार निर्माण तथा मर्मत सम्भार कोषका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

​शिक्षा र स्वास्थ्यमा ठूलो लगानी : ​शिक्षा क्षेत्रको गुणस्तर सुधार्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत डिजिटल कक्षाकोठा, विद्युतीय हाजिरी, स्थानीय पाठ्यक्रम विकास र छात्रवृत्ति जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

​स्वास्थ्यतर्फ १ करोड रुपैयाँ र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि थप १ करोड रुपैयाँ विनियोजन गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल बढाउन अवकाश प्रोत्साहन रकम ५० हजारबाट बढाएर ७५ हजार रुपैयाँ पुर्‍याइएको छ।

​नेपालको होचो भूभाग विकास र अन्य कार्यक्रम : ​नेपालकै होचो भूभागको रूपमा परिचित कचनकवलको पर्यटन पूर्वाधार विकासका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै, धार्मिक पर्यटकीय क्षेत्र भुतेश्वर महादेव मन्दिर पुनःनिर्माण प्रक्रिया अघि बढाइने बजेटमा उल्लेख छ।

​बजेटका अन्य मुख्य विशेषताहरू: ​खानेपानी तथा सरसफाइ, प्रदेश सरकारसँगको साझेदारीमा ८८ लाख रुपैयाँ।

​खेलकुद र युवा अभियान: खेलकुद विकासमा २० लाख र लागुऔषध दुर्व्यसनविरुद्ध ५ लाख रुपैयाँ।

​लक्षित वर्ग कार्यक्रम: अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि ४४ लाख ७० हजार र ज्येष्ठ नागरिक सम्मानका लागि १० लाख रुपैयाँ।

​विपद व्यवस्थापन: विपद् व्यवस्थापन तथा राहतका लागि २० लाख रुपैयाँ।

​कृषि, उत्पादन, सडक र स्वास्थ्य सेवा विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको यो बजेटले “बन्दैछ कचनकवल” अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार