नेत्र बिक्रम बिमली । राजनीतिक खिचातानी र जनप्रतिनिधि-कर्मचारीबीचको द्वन्द्वका कारण स्थानीय तहहरू थла परिरहेका बेला झापाको हल्दीबारी गाउँपालिकामा भने एक फरक र लोभलाग्दो दृश्य देखिएको छ। गाउँपालिकाको हालै सम्पन्न २१औं गाउँसभा हलभित्रको एउटा तस्बिरले अहिले सबैको ध्यान तानेको छ, जहाँ गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’ लाई मञ्चमै अङ्गालो मारेर आत्मियता साटासाट गरे। कार्यपालिकाको सर्वोच्च नीति निर्माण गर्ने थलोमा देखिएको यो भावनात्मक र अनौठो दृश्यले हलमा उपस्थित जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण सबैको आँखा खुसीले रसाएका थिए।
यो अङ्गालो केवल दुई व्यक्तिको मिलन मात्र थिएन; यो त अस्थिरताको चक्रव्यूह चिरेर विकासको एउटा सुन्दर अध्याय लेख्न सफल दुई सारथिको साझा खुसी र कृतज्ञताको प्रकटीकरण थियो।
अस्थिरताको अन्त्य र ३ वर्षे सुखद यात्रा–
कुनै समय हल्दीबारी गाउँपालिका प्रशासनिक अस्थिरताको पर्याय जस्तै बनेको थियो। कोही प्रमुख प्रशासकीय अधिकृत एक महिना, कोही दुई महिना त कोही बढीमा दुई वर्षसम्म पनि टिक्न नसक्ने अनौठो शृङ्खला यहाँ चलिरहेको थाहा पाउन गाह्रो थिएन। प्रशासनिक नेतृत्व छिटो-छिटो परिवर्तन हुँदा पालिकाका योजनाहरू लथालिङ्ग थिए भने जनअपेक्षा अनुरूप काम हुन सकिरहेको थिएन। तर, यो अस्थिरताको बाटोलाई मानबहादुर वन ‘महेन्द्र’ को आगमनले पूर्णविराम लगाइदियो। वनले यस पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सफलतापूर्वक करिब ३ वर्ष बिताइसकेका छन्, जुन हल्दीबारीको हालसम्मकै इतिहासमा एउटा विरलै सुखद संयोग हो।
१५ करोडको घाटा शून्यमा झार्दाको त्यो उपलब्धि-
अधिकृत वन जब हल्दीबारी भित्रिएका थिए, तब पालिकाको वित्तीय अवस्था निकै दयनीय थियो। करिब १५ करोड रुपैयाँको ठूलो घाटा बजेटको भारी बोकेर पालिका जेनतेन चलिरहेको थियो। तर, जनप्रतिनिधिहरूको दह्रो राजनीतिक इच्छाशक्ति र प्रमुख प्रशासकीय अधिकृत वन नेतृत्वको कर्मचारी संयन्त्रको अहोरात्र मिहिनेत, चुस्त वित्तीय अनुशासन एवं पारदर्शी कार्यशैलीका कारण उक्त १५ करोडको गहिरो खाडल पुरियो। पालिकाले अहिले त्यो विशाल घाटा बजेटलाई पूर्ण रूपमा ‘शून्य’ मा झार्न सफल भएको छ, जसलाई स्थानीय तहको वित्तीय व्यवस्थापनमा एउटा ठूलो क्रान्तिका रूपमा हेरिएको छ।
शिक्षा र पूर्वाधारमा देशकै ‘नमुना’ –
वित्तीय सुधार मात्र होइन, हल्दीबारीले पछिल्ला वर्षहरूमा असल अभ्यास, शिक्षा क्षेत्रमा व्यापक सुधार र दिगो पूर्वाधार विकासमा चालेका कदमहरू प्रशंसनीय छन्। सोही जगका कारण हल्दीबारी आज झापा जिल्लाकै उत्कृष्ट पालिकाको रूपमा घोषित भइसकेको छ। सरकारी विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारदेखि लिएर स्थानीय आवश्यकतामा आधारित भौतिक पूर्वाधार निर्माणसम्मका हरेक सूचकमा पालिका अब्बल ठहरिएको छ।
एउटा जनप्रतिनिधिलाई सफल बनाउन र नागरिकका सपना साकार पार्न कुशल कर्मचारीतन्त्रको कति ठूलो भूमिका हुन्छ भन्ने उदाहरण हल्दीबारीले देशैभरि प्रस्तुत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत वन ‘महेन्द्र’ र समग्र कर्मचारी टोलीको इमानदार प्रयास, सिर्जनशीलता र कठोर मिहिनेतकै कारण आज हल्दीबारी झापाको मात्र नभएर देशकै एउटा प्रस्ट र अनुकरणीय ‘नमुना पालिका’ का रूपमा स्थापित हुन सफल भएको छ। गाउँसभामा देखिएको त्यो आत्मीय अङ्गालोले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने संघीयताको असली मर्मलाई साँचो अर्थमा चरितार्थ गरिदिएको छ।







