१४ असार, झापा : नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय भई देशका धेरैजसो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार साँझ एक विशेष मनसुन बुलेटिन जारी गर्दै महाशाखाले आगामी १६ असार मङ्गलवार र १७ असार बुधवार देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको हो।
मौसमविद्हरूका अनुसार विशेषगरी मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागहरू बढी प्रभावित हुने सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने र एक–दुई स्थानमा अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको सतह अचानक बढ्न सक्ने, शहरी तथा तराई क्षेत्रका होचा भागहरू डुबानमा पर्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
साथै, मेघगर्जन र चट्याङ्गका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। महाशाखाले मौसमसम्बन्धी पछिल्लो जानकारी तथा अद्यावधिक पूर्वानुमान नियमित रूपमा हेरी आवश्यक पूर्वतयारी अपनाउन सर्वसाधारण, स्थानीय तह तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई सचेत गराएको छ।








