झापा । झापा गाउँपालिकाले आफ्नो विकास यात्रालाई परम्परागत खुद्रे योजनाको परिपाटीबाट मुक्त गर्दै दिगो र परिणाममुखी आधुनिक मोडलमा रूपान्तरण गर्ने साहसिक कदम चालेको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गर्नुभएको पाँचौँ वार्षिक नीति तथा कार्यक्रमले पालिकामा प्रविधि, उत्पादन र नागरिक केन्द्रित सेवाको बलियो जग बसालेको छ। “शिक्षा स्वास्थ्य कृषिमा गति, पूर्वाधार विकास र सुशासन, झापा गाउँपालिकाको नीति” भन्ने मूल सङ्कल्प बोकेको यस नीति तथा कार्यक्रमलाई २० औँ अधिवेशनको प्रथम बैठकले व्यापक छलफल र विमर्शका बिच सर्वसम्मत रूपमा पारित गरेको छ। चालु कार्यकालको पाँचौँ वर्षमा प्रवेश गरेको जनप्रतिनिधिहरूको यो टोलीले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने खालका दूरगामी योजनाहरू अघि सारेको छ।
​यस पटकको नीति तथा कार्यक्रम विगतका वर्षहरूभन्दा फरक, वैज्ञानिक र विशिष्ट जनमुखी विशेषतासहित आएको छ। नीति तय गर्नुअघि वडा समिति, सर्वदलीय बैठक, विज्ञहरूको टोली, र प्रदेश तथा संघीय सांसदहरूसँग व्यापक राय-परामर्श गरिएकाले यसले आम झापावासीको सामूहिक भावनाको प्रतिनिधित्व गर्दछ। यसको सबैभन्दा ठूलो विशिष्टता भनेको पूर्ण डिजिटल र क्यासलेस सुशासनको अवधारणा हो। पालिकाबाट हुने सम्पूर्ण आर्थिक भुक्तानीहरूलाई अनिवार्य रूपमा नगदरहित बनाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने र सार्वजनिक खरिदमा ‘ई-बिडिङ’ लाई अनिवार्य गर्ने नीति लिइएको छ। आर्थिक अनुशासनका लागि ‘शून्य पेश्की’ को नीतिलाई निरन्तरता दिँदै बजेटलाई धेरै क्षेत्रमा छरिन नदिई विगतका अधुरा र तत्काल प्रतिफल दिने ठूला आयोजनामा केन्द्रित गरिएको छ। प्रशासनिक चुस्तताका लागि करार सेवाका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने र ‘सेवाग्राही सन्तुष्टि सर्वेक्षण’ मार्फत कर्मचारीको कार्यसम्पादनको स्वतन्त्र मूल्याङ्कन गर्ने परिपाटीको सुरुवात गरिनुले यसको प्रशासनिक परिपक्वता झल्काउँछ।
​पालिकाको मेरुदण्ड मानिएको कृषि क्षेत्रलाई परम्परागत शैलीबाट मुक्त गरी व्यावसायिकीकरण गर्न कार्यवाहक अध्यक्ष थपलियाले विशेष रणनीतिक मुद्दाहरू अघि सार्नुभएको छ। “खेत खेतमा पानी, सिंचाईमा लगानी” भन्ने आदर्श वाक्यसहित वास्तविक किसान पहिचानका लागि ‘किसान परिचय पत्र’ वितरण गरी कृषि अनुदानलाई पारदर्शी बनाउने योजना बुनिएको छ। मकै पकेट जोनको प्रवर्द्धनका लागि आधुनिक मेसिनरी खरिद, कृषकलाई सिंचाई विद्युत महसुलमा विशेष सहुलियत, र विद्युत पोल तथा ट्रान्सफर्मरको बन्दोबस्त गरिने नीतिमा उल्लेख छ। यसका साथै रैथाने बालीको संरक्षण र वडा नं. २ स्थित झापा कृषि बजारको भौतिक स्तरोन्नति गर्दै केरा, खर्बुजा र ड्रागन जस्ता व्यावसायिक फलफूल खेतीमा पालिकालाई आत्मनिर्भर बनाइनेछ।
​नागरिकको मौलिक हकको ग्यारेन्टी गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको खाका कोरिएको छ। वडा नं. ३ मा रहेको १० शय्याको आधारभूत अस्पतालमा अत्याधुनिक ल्याब जडान गरी अति विपन्न र ज्येष्ठ नागरिकलाई नि:शुल्क उपचार तथा गर्भवती महिलालाई नि:शुल्क भिडियो एक्स-रे सेवा उपलब्ध गराइनेछ। पालिकावासीका लागि नि:शुल्क रगतको व्यवस्था मिलाउन ‘रक्त सहायता खर्च भुक्तानी कार्यक्रम’ ले निरन्तरता पाएको छ। शैक्षिक क्षेत्रतर्फ सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरी अनिवार्य गर्दै इन्टरनेटमार्फत प्रविधिमैत्री शिक्षा प्रदान गरिनेछ। विद्यालय क्षेत्रमा सुर्ती र मदिरा पूर्ण रूपमा निषेध गरिनुका साथै बालस्वास्थ्य सुधारका लागि जंक फुड प्रतिबन्ध गरी ‘अर्गानिक दिवा खाजा’ को सुरुवात गरिनेछ। साथै, स्थानीय संस्कृति प्रवर्द्धनका लागि निर्मित स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रबाटै लागू हुनेछ भने झापा गाउँपालिका स्तरीय मदरसा बोर्डलाई थप गतिशील बनाइनेछ।
​युवा जनशक्तिलाई गाउँमै रोक्न र स्वरोजगार बनाउन आगामी वर्ष कम्तिमा १५० जना युवालाई मागमा आधारित उद्यमशीलता तालिम र बीउ पूँजी उपलब्ध गराई उद्यमी बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप उपयोग गरिनेछ भने श्रम स्वीकृतिको कार्य पालिकास्तरबाटै हुने व्यवस्था मिलाइनेछ। वर्षौँदेखि थाती रहेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जग्गा धनीपूर्जा वितरण गर्ने कार्यलाई यसै वर्ष तार्किक निष्कर्षमा पुर्‍याइनेछ। भौतिक पूर्वाधारतर्फ “एक वडा – एक कालोपत्रे” गौरवको सडक आयोजनाको दायाँबायाँ अनिवार्य वृक्षरोपण गरी हरित अर्थतन्त्रमा जोड दिइनेछ। आगलागीको जोखिम न्यूनीकरणका लागि आगामी वर्ष पालिकाले आफ्नै वारुण यन्त्र खरिद गर्ने घोषणा गरेको छ भने जङ्गली हात्तीको आतंक र क्षति न्यूनीकरणका लागि संघ तथा प्रदेश सरकारसँग विशेष समन्वय गरिनेछ।
​नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले समृद्ध, सबल र न्यायपूर्ण झापा गाउँपालिका निर्माण गर्नु नै आफ्नो टोलीको मुख्य संकल्प रहेको स्पष्ट पार्नुभयो। उहाँले विगतका असल अभ्यासहरूलाई निरन्तरता दिँदै र चुनौतीहरूलाई अवसरमा बदल्दै सुखी गाउँवासीको सपना साकार पार्न सम्पूर्ण नागरिक, राजनीतिक दल र कर्मचारी संयन्त्रको रचनात्मक सहयोगको अपेक्षा गर्नुभएको छ। समग्रमा, झापा गाउँपालिकाको यो २० औँ सभाबाट प्रस्तुत नीति तथा कार्यक्रमले परम्परागत र खुद्रे योजनाको युग सधैँका लागि अन्त्य गर्दै प्रविधि, रोजगारी, र पर्यावरणमैत्री पूर्वाधारको नयाँ युगको सुरुवात गरेको छ। यदि यो नीति र आगामी बजेटको अक्षरसः कार्यान्वयन हुन सकेमा झापा गाउँपालिका कोशी प्रदेशकै एक उदाहरणीय र आत्मनिर्भर स्थानीय सरकारका रूपमा स्थापित हुने जनअपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार