काठमाडौँ: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको आयोजना र सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा तीन दिने फोटो पत्रकारिता तालिम काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेजमा प्रारम्भ भएको छ। असार २१ गतेसम्म सञ्चालन हुने यस तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी विधामा रुचि भएका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका संयोजक एवं महासचिव घनश्याम श्रेष्ठले जानकारी दिएका छन्। तालिमको मुख्य ध्येय फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र समाचार तस्बिरहरूको प्राविधिक गुणस्तरमा सुधार ल्याउनु रहेको छ।

​सहभागीहरूलाई फोटो पत्रकारिताको विकास, समाचार मूल्य, तस्बिर छनोट, फोटो क्याप्सन लेखन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन र भिजुअल स्टोरीटेलिङ (दृश्य कथन) जस्ता विषयमा प्रशिक्षण दिइँदै छ। यसका साथै आधुनिक डिजिटल प्रविधिको सही प्रयोग र फोटो पत्रकारिताको आचारसंहिता तथा नैतिकताका बारेमा पनि विस्तृत छलफल गराइने छ। तालिममा वरिष्ठ फोटो पत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य र एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्त लगायतका पदाधिकारीहरूले सहजीकरण गरिरहेका छन्।

​तालिम अवधिभर सहभागीहरूले सैद्धान्तिक ज्ञान हासिल गर्नुका साथै व्यावहारिक अभ्यास र फिल्ड फोटोग्राफीमा समेत सक्रिय सहभागिता जनाउने छन्। एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’ ले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले नेपाली फोटो पत्रकारिताको समग्र गुणस्तर सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता व्यावसायिक तालिमहरूलाई मुलुकभर निरन्तरता दिने योजना रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार