समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बाह्रदशी गाउँपालिका जनविकास माविका संस्थापक प्रधानाध्यापक गोस्वामीलाई ७२ वर्षपछि मरणोपरान्त सम्मान

झापा । बाह्रदशी गाउँपालिका–४ स्थित जनविकास माध्यमिक विद्यालयले आफ्ना संस्थापक प्रधानाध्यापक स्वर्गीय प्रेमानन्द गोस्वामीलाई स्थापनाको ७२ वर्षपछि मरणोपरान्त सम्मान गरेको छ। वि.सं. २०११ सालमा विद्यालय स्थापना गरी यस क्षेत्रको शैक्षिक गोरेटो कोर्न अतुलनीय योगदान पुर्‍याएका गोस्वामीलाई बिहीबार आयोजित एक विशेष समारोहका बीच सम्मान गरिएको हो।

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवं बाह्रदशी–४ का वडाध्यक्ष महताव आलमले स्वर्गीय गोस्वामीका परिवारका तर्फबाट दयानन्द गोस्वामीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे। सोही अवसरमा विद्यालयको कार्यालयमा संस्थापक प्रधानाध्यापक गोस्वामी र जग्गादाताहरूको तस्बिरसहित नामावली अंकित शिलालेखको समेत अनावरण गरिएको थियो।

विज्ञापन (Advertisement)Advertisement

​स्थापनाकालदेखि नै ओझेलमा परेका संस्थापक र जग्गादाताहरूलाई विद्यालयले पहिलोपटक औपचारिक कार्यक्रम गरी सम्झिएको हो। समारोहमा विद्यालयका लागि भूमिदान गर्ने जग्गादाताहरू स्वर्गीय बुल्ला मिया, स्वर्गीय लक्ष्मीदेवी गणेश, स्वर्गीय लिला गणेश र स्वर्गीय काली प्रसाद गणेशलाई मरणोपरान्त सम्मान गरियो। जीवितै रहेका जग्गादाताहरू रेनुका देवी गनगाई र ठण्डाकुमारी गणेशलाई पनि सोही अवसरमा दोसल्ला र सम्मानपत्रद्वारा कदर गरियो।

​कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक शिव पोख्रेलले संस्थापकरूले देखाएको जगमै रहेर विद्यालयले शैक्षिक सुधार गरिरहेको प्रतिवेदन प्रस्तुत गरे। वि.सं. २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा (निल) बेहोरेको यस विद्यालयले पछिल्ला वर्षहरूमा प्रगति गर्दै वि.सं. २०८१ मा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको पोख्रेलले बताए। हाल ४५६ जना विद्यार्थी अध्ययनरत यस विद्यालयलाई आगामी ५ वर्षभित्र पालिकाकै उत्कृष्ट बनाउने र प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। यस विद्यालयमा करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका छन्।

​समारोहमा गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रा आफ्रिन निसा र कक्षा ८ बाट उत्कृष्ट हुने जानकी शर्मालाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरियो। कार्यक्रममा मुस्लिम समुदायका छात्राहरूले आफ्नो मौलिक सांस्कृतिक भेषभूषामा प्रस्तुति समेत दिएका थिए।

​कार्यक्रमका वक्ताहरूले संस्थापक प्रधानाध्यापक र जग्गादाताहरूको पहिचान गरी ऐतिहासिक कार्य गरेको भन्दै वर्तमान प्रधानाध्यापक पोख्रेलको प्रशंसा गरे। उनीहरूले विद्यालयको कुल जग्गाको अभिलेखीकरण गर्न सुझाव दिँदै गाउँपालिकाको नयाँ प्रधानाध्यापक नियुक्तिको निर्णयका कारण कुशल प्रशासक पोख्रेल अन्यत्र जाने अवस्था आएकाले उनलाई काजमा भए पनि यसै विद्यालयमा राखिदिन गाउँपालिकासमक्ष माग गरे।

​संविधानसभा सदस्य हरिबहादुर राजवंशी, रेडक्रसकर्मी ओमप्रकाश गौतम, गाउँपालिका शिक्षा शाखा प्रमुख गीतादेवी सुवेदी, समाजसेवी सोमनाथ बजगाई, स्थानीय सूर्यनारायण गणेश लगायतले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रमको स्वागत शिक्षिका धनमाया नेपालले गरेकी थिइन् भने सञ्चालन शिक्षक टीका गणेश र शिक्षिका तुलसा काफ्लेले गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)