हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २२ घण्टा अगाडि

पूर्वको पशुपतिनाथ अर्जुनधारा धाममा शिवभक्तको घुइँचो, साउनको पहिलो सोमबार भव्य रूपमा मनाइँदै

झापा । साउन महिनाको पहिलो सोमबारको अवसरमा ‘पूर्वको पशुपतिनाथ’का रूपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा श्रद्धालु भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ। झापासहित पूर्वका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट आएका हजारौँ भक्तजनले शिवको पूजा-आराधना तथा जलाभिषेक गरी साउनको पहिलो सोमबार मनाएका हुन्।

Advertisement

​साउन महिनालाई भगवान् शिवको आराधना गर्ने विशेष महिना मानिने भएकाले मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरू लामबद्ध थिए। श्रद्धालुहरूले शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र विभिन्न फूल अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन्। धेरैजसो श्रद्धालुहरूले आजको दिन व्रत बसेर शिवको विशेष आराधना गर्ने गर्दछन्।

Advertisement

​धाम परिसरमा बिहानैदेखि “बोल बम” र “हर हर महादेव” जस्ता धार्मिक जयघोषले मन्दिर क्षेत्र गुञ्जायमान बनेको थियो।

​भक्तजनहरूको सहज दर्शनका लागि मन्दिर व्यवस्थापन समितिले विशेष तयारी गरेको जनाएको छ। समितिका अनुसार लाइन व्यवस्थापन, स्वयंसेवक परिचालन, खानेपानी तथा सरसफाइको उचित प्रबन्ध मिलाइएको छ। भीडभाडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेत परिचालन गरिएको छ।

​पूर्वी नेपालकै प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेको अर्जुनधारा जलेश्वर धाममा साउन महिनाका प्रत्येक सोमबार, महाशिवरात्रि तथा अन्य धार्मिक पर्वहरूमा ठूलो मेला लाग्ने गर्दछ। स्थानीयका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पहिलो सोमबार धाम परिसरमा उल्लेख्य चहलपहल देखिएको छ। दिनभर भक्तजन आउने क्रम जारी रहेको र साउनका बाँकी सोमबारहरूमा पनि श्रद्धालुहरूको यस्तै उपस्थिति रहने अनुमान व्यवस्थापन समितिले गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)