समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

रसुवामा बाढीको वितण्डा: सेना र हेलिकप्टर परिचालन, प्रधानमन्त्री शाहद्वारा उच्चस्तरीय बैठक आह्वान

झापा । रसुवामा भीषण बाढी आएपछि सरकारले व्यापक रूपमा उद्धार तथा राहत कार्य अघि बढाएको छ। बाढीका कारण तटीय क्षेत्रमा क्षति पुग्ने सम्भावना बढेपछि गृह प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ।

Advertisement

​प्रधानमन्त्री बाल शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको बाढी र त्यसपछिको उद्धार तयारीबारे नागरिकलाई जानकारी गराएका छन्। सरकारका तर्फबाट भए-गरेका प्रयास र भावी कदमबारे स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नागरिकहरूलाई धैर्य र सजग रहन अपिल गरेका छन्।

Advertisement

उद्धारमा तीनै सुरक्षा निकाय, अन्य जिल्लाबाट पनि फौज परिचालन

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरीको टोली परिचालन भइसकेका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त जनशक्ति र उद्धार टोली प्रभावित क्षेत्रतर्फ मुभ गराइएको छ।

हेलिकप्टर प्रभावित क्षेत्रमा, निजी कम्पनीलाई ‘स्ट्यान्डबाइ’ बस्न निर्देशन

विपत्‌मा परेका नागरिकको तत्काल उद्धारका लागि सम्भावित सबै हवाई साधन प्रयोगमा ल्याइएको छ। सरकारी हेलिकप्टरहरूलाई उद्धार र राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। यस्तै, आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै निजी हेलिकप्टर कम्पनीहरूलाई पनि आफ्ना उडानहरू तयारी अवस्था (Standby) मा राख्न निर्देशन दिइएको छ।

स्वास्थ्य टोली, स्काउट र रेडक्रस सक्रिय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) लाई पूर्ण रूपमा सक्रिय बनाइएको छ। मेडिकल टिम, नेपाल स्काउट र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी घाइतेको उपचार र राहत वितरणको काम सुरु भइसकेको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रियासमेत अघि बढाइएको छ।

तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण र अलर्ट सन्देश

बाढीको जोखिम बढेसँगै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूलाई निर्देशन दिइएको छ। नागरिकलाई जोखिमबाट बचाउन मोबाइलमा SMS र कलमार्फत निरन्तर अलर्ट गराउने काम भइरहेको छ।

उच्चस्तरीय बैठक डाकियो

स्थिति मूल्याङ्कन गरी आगामी रणनीति तय गर्न सरकारले उच्चस्तरीय बैठक बोलाएको छ। अबको केही बेरमा बस्ने उक्त बैठकले राहत, उद्धार र क्षतिपूर्तिबारे थप महत्त्वपूर्ण निर्णयहरू लिने बताइएको छ।

आफन्तको अद्यावधिकका लागि हटलाइन नम्बर

प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफ्ना आफन्तहरूसँग सम्पर्क नभएमा आत्तिनुको सट्टा सरकारी निकायको आधिकारिक ‘रेस्क्यु अपडेट’ पर्खन अनुरोध गरेका छन्।

​थप जानकारी, उद्धार तथा राहतसम्बन्धी सोधपुछका लागि सरकारले निम्न नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ:

  • १२३४
  • १०० (नेपाल प्रहरी)
  • ११११ (हेलो सरकार)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article