समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नेपालमा भोटेकोशीको महाविपत्ति: मृतकको संख्या ५७९ पुग्यो, १५७ विदेशीसहित १९ सयभन्दा बढी बेपत्ता

झापा ।
नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण तटीय क्षेत्रमा अपूरणीय मानवीय र भौतिक क्षति भएको छ। नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढीमा परी मृत्यु हुनेको संख्या ५७९ पुगेको छ। बाढीको तीव्र बहावले बगाएर ल्याएका शवहरू रसुवादेखि छिमेकी जिल्लाहरू नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र भारतसँग सीमा जोडिएका नवलपरासी पूर्व तथा नवलपरासी पश्चिमका नदी किनारहरूमा फेला परिरहेका छन्। हालसम्म प्राप्त विवरण अनुसार चितवनमा २३३, नवलपरासी पूर्वमा १५४, गोरखामा ४६ (विभिन्न मानव अंगसहित), धादिङमा ४०, नुवाकोटमा ३७, तनहुँमा ३०, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव भेटिइसकेको छ, जसमध्ये फेला परेका एक जना नेपाल प्रहरीका जवानसहित धेरैजसो शवको पहिचान हुन बाँकी छ।

Advertisement


​यस पटकको प्राकृतिक विपद्‌मा उद्धार कार्यमा खटिनुपर्ने सुरक्षाकर्मी र सीमा क्षेत्रका सरकारी निकायका कर्मचारी नै ठूलो संख्यामा बेपत्ता भएका कारण अवस्था थप गम्भीर बनेको छ। टिमुरेस्थित नेपाल-चीन सीमा नजिक रहेका कार्यालयहरू बाढीले बगाउँदा बाढीपछि कुल १ हजार ९२४ जना मानिस अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३ जनाका साथै भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारीहरू रहेका छन्। रसुवा क्षेत्रबाट मात्रै १६१ जना सम्पर्कविहीन भएका छन् भने विभिन्न जलविद्युत् आयोजनाबाट ९३ जना, मकवानपुरबाट ६६ जना, ललितपुर राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ३ जना तथा १५७ जना विदेशी नागरिक अझै हराइरहेका छन्।

Advertisement


​भौगोलिक कठिनाइ र सञ्चार सम्पर्क विच्छेदका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूले जोखिमयुक्त क्षेत्रमा अहोरात्र खटिएर खोजी तथा उद्धार कार्य जारी राखेका छन्। जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका १९१ जनासहित हालसम्म कुल ४ हजार ५४५ जनाको जीवितै उद्धार गरिएको छ। जसमध्ये १५७ जनालाई दुर्गम क्षेत्रबाट हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको छ भने उद्धार गरिएकाहरूमा १२९ जना विदेशी नागरिकसमेत रहेका छन्। बाढीमा परी घाइते भएका १०१ जनाको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ र उनीहरूको थप हेरचाहका लागि विशेष सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ।


​बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जोड्ने मुख्य राजमार्ग, पक्की पुल तथा सञ्चार सञ्जाल पूर्ण रूपमा ध्वस्त भएका छन्, जसले गर्दा राहत र उद्धार सामग्री पुर्‍याउन ठूलो कठिनाइ भइरहेको छ। नारायणी र गण्डक नदी हुँदै बाढीको बहाव भारततर्फ बग्ने भएकाले सीमावर्ती भारतीय क्षेत्रका तटीय बासिन्दा तथा स्थानीय प्रशासनलाई बगेर आउन सक्ने शव वा प्रभावितहरूको खोजीका लागि उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ। यसैबिच, नेपालका अस्पतालहरूमा कूल ३०० देखि ३५० वटा मात्र शव राख्न सक्ने भण्डारण क्षमता रहेको र फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार सीमित क्षमताका कारण विपद्‌का बेला शव सुरक्षित राख्न र व्यवस्थापन गर्न ठूलो चुनौती खडा भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article