हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

रातमाटे सामुदायिक वनको साधारणसभा सम्पन्न

Advertisement

​हल्दिबारी ,झापा । रातमाटे सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिकास्थित समूहका अध्यक्ष जनक तामाङको अध्यक्षतामा आयोजित साधारणसभाले आगामी आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ।

Advertisement

​कार्यक्रममा वनको संरक्षण र व्यवस्थापनमा निरन्तर योगदान पुर्‍याउँदै आएका वन हेरालु वेदनाथ गिरीलाई खादा तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

​साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले सामुदायिक वन हरियाली जोगाउने माध्यम मात्र नभई स्थानीयको आर्थिक–सामाजिक रूपान्तरणको बलियो आधार भएको बताउनुभयो। वनलाई उत्पादन र आयआर्जनको भरपर्दो स्रोतका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

​युवा प्रतिनिधि अभिषेक खतिवडाले स्थानीय स्रोत–साधनको संरक्षण र विकासमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याउनुभयो। कार्यक्रममा हल्दिबारी-३ का वडा अध्यक्ष विष्णु प्रसाद ओली, जलथल सब-डिभिजन वन कार्यालयका प्रतिनिधि ईश्वरी घिमिरे, कल्याण साकोसका अध्यक्ष बण्डा मेचे तथा रणकाली सामुदायिक वनका प्रतिनिधि अर्जुन गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

​साधारणसभामा आन्तरिक लेखा समिति संयोजक अर्जुन भट्टराईले पेस गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार समूहको कुल प्राप्ति २७ लाख १० हजार ६१ रुपैयाँ रहेको छ। प्रतिवेदनमा वन विकास तथा संरक्षणमा ६ लाख ६० हजार ९० रुपैयाँ, काठ–दाउरा संकलनमा ८ लाख १९० रुपैयाँ, सामाजिक पूर्वाधार विकासमा ६ लाख २६ हजार ४ सय ७ रुपैयाँ, प्रशासनिक शीर्षकमा २ लाख ८० हजार २ सय ७४ रुपैयाँ, महिला सशक्तीकरण तथा गरिबी न्यूनीकरणमा १ लाख ५० हजार रुपैयाँ र दायित्व भुक्तानीतर्फ २३ हजार ७ सय १२ रुपैयाँ खर्च भएको उल्लेख छ।

​आयव्यय हिसाबपछि समूहको अन्तिम मौज्दात १ लाख ६९ हजार ३ सय ८८ रुपैयाँ बाँकी रहेको छ। आगामी वर्ष वन पैदावारको व्यवस्थित उपयोग, उपभोक्ताको आयआर्जन, गरिबी न्यूनीकरण र सामाजिक पूर्वाधार विकासलाई प्राथमिकता दिइने समूहका सचिव खड्ग बिष्टले जानकारी दिनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)