हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

रसुवा विपत्तिमा हल्दिबारीको साथ : विभिन्न स्थानमा श्रद्धाञ्जली, प्रार्थना र शोकसभा

अभिषेक खतिवडा

Advertisement

झापा। रसुवामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै झापाको हल्दिबारी गाउँपालिकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन, शोकसभा, स्वस्तिशान्ति तथा धार्मिक प्रवचन कार्यक्रम आयोजना गरिएका छन्। विपत्तिमा ज्यान गुमाउनेहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, आगामी दिनमा यस्ता भीषण प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने कामना पनि गरिएको छ।

Advertisement

​हल्दिबारी–३ स्थित श्री सुरेश्वर स्वर्गद्वारी मन्दिर समितिको आयोजनामा १०८ दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली तथा समवेदना अर्पण कार्यक्रम सम्पन्न भयो। मन्दिर समितिका अध्यक्ष गोविन्द बोहोराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न सङ्घसंस्था, कीर्तन मण्डली तथा धार्मिक व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा स्वस्तिशान्ति पाठका साथै धार्मिक प्रवचनसमेत गरिएको थियो।

​त्यस्तै, चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागितामा दीप प्रज्ज्वलन, शोकसभा र राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गरेको छ। विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। सो अवसरमा विद्यालय परिवारका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३२ हजार ३ सय ८५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

​यसैगरी, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय विकास समिति र स्थानीय सामाजिक सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा स्वस्तिवाचनसहित दीप प्रज्ज्वलन तथा शोकसभा आयोजना गरियो। कार्यक्रममा किरातेश्वर गुरुकुलमका बटुक, आचार्य पण्डित सोमनाथ सुवेदी, अर्जुन भट्टराई तथा त्रिपुरारी समूहका गुरुहरूले धार्मिक तथा शास्त्रीय प्रवचन दिएका थिए। उक्त कार्यक्रममा जेसिज हल्दिबारी, स्थानीय कीर्तन मण्डली र चिल्ड्रेन गार्डेनका पूर्वविद्यार्थी समाजलगायतको उपस्थिति थियो।

​उता हल्दिबारी–५ स्थित धनुष पोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हल्दिबारी गाउँ कमिटीले श्रद्धाञ्जली तथा शोकसभाको आयोजना गर्‍यो। रास्वपा हल्दिबारीका अध्यक्ष ॐराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहसचिव शैलेन्द्र सिटौलाले सञ्चालन गरेका थिए।

​यसैबीच, हल्दिबारी गाउँपालिकाले रसुवाका प्राकृतिक विपत्ति प्रभावित तथा पीडितका लागि २५ लाख ८ हजार ७५० रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिकाका अनुसार उक्त सहयोग रकम विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीहरूको योगदानबाट सङ्कलन गरिएको हो।

​घोषित रकममध्ये जनप्रतिनिधिबाट ८७ हजार ७३२, गाउँपालिका मातहतका कर्मचारीबाट ७ लाख १५ हजार २४८ र सामुदायिक विद्यालयका शिक्षकहरूबाट १५ लाख ५ हजार ७७० रुपैयाँ सङ्कलन भएको गाउँपालिकाले जनाएको छ।

​प्राकृतिक विपत्तिको यो कठिन घडीमा हल्दिबारीबाट श्रद्धाञ्जली, धार्मिक प्रार्थना, सामाजिक ऐक्यबद्धता र राहत सहयोगको संयुक्त भावना प्रकट भएको छ। विभिन्न कार्यक्रमका सहभागीहरूले दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, प्रभावित परिवारहरूलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)