धादिङ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सञ्चालन गरिरहेको प्रतिकार्य गतिविधिहरूको सभामुख डि.पी. अर्यालले स्थलगत अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा सभामुख अर्यालले नेरेसो धादिङ शाखामार्फत भइरहेको राहत तथा आवश्यक सामग्री वितरण, प्रभावित परिवारको पहिचान र स्वयंसेवक परिचालनलगायतका गतिविधिबारे विस्तृत जानकारी लिनुभएको थियो ।

सो क्रममा उहाँले स्थानान्तरित प्रभावितहरू राखिएको होल्डिङ सेन्टरको व्यवस्थापनको समेत निरीक्षण गर्नुभयो । सेन्टरमा स्थानीय रूपमा निर्मित बाँसका डोकोलाई डस्टबिनका रूपमा प्रयोग गरी सरसफाइसँगै स्थानीय उत्पादनको प्रवर्द्धन गरिएकोमा सभामुखले चासो व्यक्त गर्नुभएको थियो ।
विपद्को कठिन समयमा स्थानीय स्रोत, सीप र उत्पादनको उपयोग गर्दै मानवीय सहायता पुर्याउने नेपाल रेडक्रसको यो पहल सकारात्मक र अनुकरणीय रहेको सभामुख अर्यालले बताउनुभयो ।
