झापा । चेतना नेपाल परामर्श केन्द्रको १४ औँ साधारण सभा संस्थाकै सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष इन्द्र प्रसाद ओलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सग्रौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि उपप्रमुख सग्रौलाले पानसमा दीप प्रज्ज्वलन गरी सभाको उद्घाटन गर्नुभएको थियो। सो क्रममा संस्थाकी सदस्य रोमा देवी निरौलाले स्वस्तिवाचन गर्नुभएको थियो।

कार्यक्रममा नौमती बाजा समूहका तर्फबाट लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतनामूलक सङ्गिनी नाच, नाट्य समूहद्वारा दुर्व्यसनले निम्त्याउने पीडासम्बन्धी नाटक तथा संस्थाकी सदस्य मीना भट्टराईले सचेतनामूलक कविता प्रस्तुत गर्नुभएको थियो।

सभामा अध्यक्ष इन्द्र प्रसाद ओलीले वार्षिक कार्यक्रम प्रतिवेदन तथा जनसम्पर्क अधिकारी प्रेम कुमार सेडाइँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सभामा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सग्रौला, मानार्थ सदस्य शिवकुमार राजभण्डारी, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार घिमिरे, समाजसेवी राम कुमार कन्दङ्वा र नौमती बाजा समूहकी संयोजक गीता खनाल रिजालले आ-आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षासेवी, समाजसेवी, जनप्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि, आमा समूह, सञ्चारकर्मी तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।
संस्थाकी उपाध्यक्ष उषा गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख कल्पना भट्टराईले गर्नुभएको थियो।

