बिर्तामोड (झापा) — झापाको बाह्रदशी गाउँपालिका–७ डाँगीबारीका ९० वर्षीय रङ्गलाल राजवंशीले आफूले पाउँदै आएको सामाजिक सुरक्षा (वृद्धभत्ता) बापतको रकम बचत गरी स्थानीय मन्दिरलाई कुर्सी प्रदान गरेका छन्।

राजवंशीले आफ्नी स्वर्गीय श्रीमती राजकुमारी राजवंशीको सम्झनामा डाँगीबारी बजारस्थित दुर्गा मन्दिरका लागि करिब ६५ हजार रुपैयाँ बराबरका स्टिलका कुर्सी उपलब्ध गराएका हुन्। एक सेटमा तीन जना बस्न मिल्ने त्यस्ता पाँचवटा कुर्सीमा कुल १५ जना सर्वसाधारण अट्नेछन्।

विश्वकर्मा पूजाको अवसर पारेर बिहीबार आयोजित विशेष कार्यक्रममा दाता राजवंशीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोमलाल राजवंशीलाई ती कुर्सीहरू हस्तान्तरण गरे। सो क्रममा मन्दिर समितिका तर्फबाट ९० वर्षीय राजवंशीलाई खादा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा अध्यक्ष टोमलाल राजवंशीले जीवनको उत्तरार्धमा समेत सामाजिक सुरक्षा भत्ता बचत गरी धार्मिक एवं सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै दाताप्रति आभार व्यक्त गरे।
हस्तान्तरण कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय अगुवाहरू डिकबहादुर बुढाथोकी, इन्द्रबहादुर राई, दाताका छोरा-बुहारी मिमलाल र बबिता कुमारी राजवंशी, नाति विवेक कुमार राजवंशी लगायत स्थानीय बासिन्दाको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन समितिका सचिव टिकाराम रोक्काले गरेका थिए।
वृद्ध अवस्थामा राजवंशी परिवारले गरेको यस पुण्य कार्यको स्थानीयवासीले प्रशंसा गरेका छन्।
