हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

नेपालमा बाढी-पहिरोको कहर: उद्धार र राहतमा चौबीसै घण्टा खटियो नेपाली सेना, ४ हजारभन्दा बढीको ज्यान जोगियो


नेपालका विभिन्न हिमाली तथा पहाडी भेगमा आएको विनाशकारी बाढी र पहिरोपछि प्रभावित बनेका क्षेत्रहरूमा नेपाली सेनाले द्रुत गतिमा खोज, उद्धार तथा राहत कार्य सञ्चालन गरिरहेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको सङ्कटबीच नेपाली सेनाका सुरक्षाकर्मीहरू ज्यानको बाजी लगाएर पीडितहरूको रक्षामा खटिएका छन्।

Advertisement

प्राप्त पछिल्लो जानकारी अनुसार, असोज १ गते साँझ ६:३० बजेसम्म नेपाली सेनाको हेलिकप्टर तथा हवाई साधनमार्फत विभिन्न जोखिमपूर्ण इलाकाहरूबाट हालसम्म कुल ४ हजार १९१ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ३ हजार ९०८ जना स्थानीय नागरिक र २८३ जना विदेशी पर्यटक तथा नागरिकहरू रहेका छन्।

​बाढी र पहिरोका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) हरूभित्र अवस्था निकै भयानक बनेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले अहोरात्र खोजी कार्य जारी राखेको छ। खोजीका क्रममा फेला परेका मानव अङ्ग तथा शवहरू निकाल्ने जोखिमपूर्ण काम भइरहेको छ।
​यसैगरी, त्रिशूली ३‘ए’ को टनेल तथा पावर हाउस क्षेत्रमा पनि खोजी कार्य तीव्र पारिएको छ। उता त्रिशूली ३‘बी’ को पावर हाउस इलाकामा एक्सकाभेटर (Excavator) र लोडरजस्ता भारी मेसिनको प्रयोग गरी उत्खनन गरिए तापनि हालसम्म केही फेला पर्न सकेको छैन। सेनाले ती क्षेत्रहरूमा खोजी अभियान जारी राखेको जनाएको छ।

​सडक सम्पर्क टुटेका र दुर्गम बनेका पहाडी इलाकाहरूमा सेनाले आधुनिक प्रविधिको प्रयोग गर्दै ड्रोनमार्फत राहत सामग्री पुर्‍याउने काम गरिरहेको छ। रसुवा तथा नुवाकोट जिल्लाका त्रिशूली पारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान र मान्चेत जस्ता स्थानहरूमा अस्थायी वेश स्थापना गरी पैदल गस्तीमार्फत घाइते तथा बेपत्ताहरूको खोजी भइरहेको छ। स्याफ्रुवेशी क्षेत्रमा मात्रै ३ वटा टोली पूर्ण रूपमा उद्धारमा केन्द्रित छन्।

Advertisement

नेपालको उत्तरी सीमावर्ती रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ७ सय भन्दा बढी जवानहरू प्रत्यक्ष रूपमा मैदानमा उत्रिएका छन्। उनीहरूले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री वितरण, अवरुद्ध सडक तथा पुलको मर्मत र आपत्कालीन स्वास्थ्य उपचारमा सहजीकरण गरिरहेका छन्। सेनाले स्थानीय बाढीपीडित परिवारलाई भावनात्मक टेवा दिनुका साथै धार्मिक संस्कार र श्रद्धाञ्जली कार्यमा समेत सहयोग पुर्‍याउँदै आएको छ।

​स्वास्थ्य उपचारका लागि नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलमार्फत बिहीबार मात्रै २८ जनाले उपचार पाएका छन्। हालसम्म यी उपचार केन्द्रहरूबाट ३ हजार ९६६ जना प्रभावित नागरिकले स्वास्थ्य सेवा लिइसकेका छन्।
​यसैबीच बाढीका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार क्षेत्रमा सडक खुलाउने कार्य युद्धस्तरमा भइरहेको छ। त्यसैगरी बेत्रावती नदीमा आवतजावत पुनः सुचारु गराउन सेना र अन्य सुरक्षा निकायका जवानहरू अस्थायी पुल निर्माणमा खटिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)