अभिषेक खतिवडा

झापा । हल्दिबारीस्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले पाथिभरा सिंहकाली मन्दिर परिसर सरसफाइ गरेका छन् । विद्यालयको चिल्ड्रेन स्काउट ट्रुपको आयोजनामा आइतबार धार्मिक तथा पर्यटकीय स्थल मन्दिर परिसरमा सरसफाइ अभियान चलाइएको हो ।

हल्दिबारी गाउँपालिका–४ स्थित मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्काउटमा आबद्ध विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै मन्दिर क्षेत्रको फोहर व्यवस्थापन तथा वातावरण संरक्षणमा योगदान पुर्याएका थिए । शिक्षक खिवराज भट्टराईको अगुवाइमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई स्वच्छता, सामाजिक उत्तरदायित्व र सार्वजनिक सम्पदा संरक्षणबारे व्यावहारिक जानकारी गराइएको थियो ।
विद्यार्थी जीवनदेखि नै सेवा, अनुशासन र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम व्यवस्थापनमा भूमिका निर्वाह गर्ने स्काउट प्रशिक्षक नारायण श्रेष्ठ र सहभागी विद्यार्थीहरूलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।
