झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्न थालेको छ। प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा बढी प्रभावित र उच्च जोखिममा परेको छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुइँटेलका अनुसार सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशभर कुल ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

सङ्क्रमितमध्ये झापामा मात्रै हालसम्म २२८ जना फेला परेका छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सुनसरीमा २०३ जना पुगेका छन्।
निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ र खोटाङमा ८२ जना डेंगुका बिरामी भेटिएका छन्। यसैगरी पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बु र तेह्रथुममा ३-३ जना तथा ताप्लेजुङमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यसै अवधिमा विभिन्न जिल्लाका अस्पतालहरूमा ५१ जना सम्भावित र दुई जना शङ्कास्पद डेंगुका बिरामी उपचाररत रहेको जनस्वास्थ्य अधिकृत लुइँटेलले जानकारी दिइन्।
डेंगुको जोखिम तीव्र रूपमा बढेकाले लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
