झापा । भारतसँग सीमा जोडिएको नेपालको झापा जिल्लाअन्तर्गत दमकमा प्रहरीले ३५ हजार नक्कली भारतीय रुपैयाँ (आईसीसी) सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधवार साँझ दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेको बीआर ३७ जे २७०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा भारतको बिहारअन्तर्गत किशनगञ्ज जिल्लाको खनियाबाद–३, फतेपुर निवासी २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलमलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ५०० दरका ७० थान नक्कली भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका नोटहरूमा एउटै नम्बर दोहोरिएको पाइएपछि शङ्का लागेर प्रहरीले परीक्षणका लागि नेपाल राष्ट्र बैंक विराटनगर पठाएको थियो। राष्ट्र बैंकको प्राविधिक टोलीले परीक्षण गर्दा उक्त सबै नोट नक्कली रहेको पुष्टि भएको छ।
पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट पाँच दिनको म्याद थप गरी नक्कली नोट कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा नक्कली भारतीय नोटको सञ्जाल र यसका मुख्य नाइकेबारे पनि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।
