हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

स्थानीय प्रतिभा र विद्यार्थीको समस्या समेटिएको ‘संघर्ष’को विशेष प्रदर्शन

झापा । विद्यार्थी जीवनका भोगाइ, प्रविधिको बढ्दो प्रभाव र सामाजिक उत्तरदायित्वको कथावस्तुमा आधारित सन्देशमूलक चलचित्र ‘संघर्ष’को शनिबार विशेष प्रदर्शन गरिएको छ । झापाको राजगढस्थित एभरेस्ट डिजिटल सिनेमा हलमा आयोजित च्यारिटी शोमार्फत चलचित्र दर्शकमाझ ल्याइएको हो ।

Advertisement

​पितमकुमार धमलाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले वर्तमान समयमा बालबालिका तथा विद्यार्थीले सामना गरिरहेका विविध समस्यालाई पर्दामा उतारेको छ । विशेषगरी विद्यालय तहका विद्यार्थीमा मोबाइलको अत्यधिक प्रयोगले पारेको नकारात्मक असर, विद्यालयभित्र हुने ‘बुलिङ’ (हेपाहा व्यवहार) र त्यसले उनीहरूको अध्ययन तथा मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई चलचित्रको मुख्य विषय बनाइएको छ ।

Advertisement

​एउटै कक्षामा पढ्ने फरक-फरक पारिवारिक पृष्ठभूमि र वातावरणका विद्यार्थीको व्यवहार तथा अध्ययनमा देखिने भिन्नतालाई चलचित्रले सूक्ष्म रूपमा केलाएको छ । चलचित्रमा बालकलाकार कृषा भण्डारी मुख्य पात्र ‘गीता’को भूमिकामा देखिएकी छन् । गीताको पात्रमार्फत आर्थिक अभाव वा गरिबी सफलताको बाधक बन्न सक्दैन भन्ने दृष्टान्त प्रस्तुत गर्दै निरन्तरको मेहनत, अनुशासन र लगनशीलता नै प्रगतिको मूल साँचो हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । साथै, बालबालिकालाई आवश्यकताभन्दा बढी सुविधा उपलब्ध गराउँदा उनीहरूको चरित्र र अध्ययनमा आउन सक्ने चुनौतीप्रति अभिभावकलाई सचेत गराउने प्रयास समेत चलचित्रले गरेको छ ।

​चलचित्रमा कृषा भण्डारीका साथै राजु खरेल, राज लावती, अनुष्का ढुङ्गाना, अनुभव खापुङ, रिदम ढकाल, दिपा पोखरेल र तुलसी मिश्रलगायतका कलाकारको अभिनय छ ।

​मञ्जिल अधिकारीको पटकथा तथा संवाद रहेको यस चलचित्रमा राज लावतीको नृत्य निर्देशन, सुवास लिम्बूको छायांकन तथा सम्पादन, राजु खरेलको उत्पादन व्यवस्थापन र विष्णु कार्कीको मेकअप छ । चलचित्रमा दिनेशराज शर्मा र डा. कुमार सुवेदीका शब्दमा रचना गरिएका गीत समावेश छन् ।

​विशेष प्रदर्शनपछि प्रतिक्रिया दिँदै दर्शकहरूले पछिल्लो समय बालबालिकामा बढ्दै गएको प्रविधिको लत र यसबाट सिर्जना भएका सामाजिक समस्यालाई चलचित्रले यथार्थपरक र सन्देशमूलक ढङ्गले प्रस्तुत गरेको बताएका थिए ।

​विशेष प्रदर्शनअघि आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले स्थानीय स्तरमै ग्रामीण परिवेशका कथावस्तु चयन गरी चलचित्र निर्माण हुनु र स्थानीय प्रतिभालाई अवसर दिनु सराहनीय काम भएको बताइन् । उनले स्थानीय विषयवस्तु र मौलिक प्रतिभालाई प्राथमिकता दिँदै यस्ता सिर्जनात्मक कार्यले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)