समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दिबारी एमालेद्वारा भव्य देउसी-भैलो भिडियो प्रतियोगिताको घोषणा

हल्दिबारी : नेपालीहरूको महान पर्व दीपावली-२०८३ लाई थप उल्लासपूर्ण, सिर्जनात्मक र सांस्कृतिक बनाउने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दिबारी गाउँ कमिटीले एक बृहत् देउसी-भैलो भिडियो प्रतियोगिताको आयोजना गरेको छ। नेपाली मौलिक कला, संस्कृति, परम्परा र सन्देशमूलक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य ध्येयसहित यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

​पछिल्लो समय बदलिँदो परिप्रेक्ष्यमा ओझेलमा पर्न लागेका हाम्रा मौलिक लोकसंस्कृति, परम्परा, भेषभूषा र लोककलाको संरक्षण गर्नु आजको आवश्यकता बनेको छ। यसै तथ्यलाई आत्मसात गर्दै हल्दिबारी गाउँपालिकाभित्र छरिएर रहेका स्थानीय प्रतिभाहरूको पहिचान गर्न र उनीहरूमा अन्तर्निहित कलालाई बाहिर ल्याउन यो प्रतियोगिता कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ। यस प्रकारका रचनात्मक कार्यक्रमले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक जागरण अभिवृद्धि गर्न ठुलो टेवा पुर्‍याउने आयोजकको भनाइ छ।

​प्रतियोगितामा सहभागिता जनाउन चाहने हल्दिबारी गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण टोल विकास संस्था, युवा क्लब, विद्यालय, कीर्तन मण्डली, सांस्कृतिक समूह तथा अन्य इच्छुक समूहहरूले आगामी कार्तिक २५ गतेभित्र आफ्नो नाम दर्ता गराउनुपर्नेछ। प्रत्येक समूहमा कम्तीमा ५ जना सदस्य हुनुपर्ने प्रावधान राखिएको छ भने दर्ता प्रक्रिया पूर्ण रूपमा निस्शुल्क गरिएको छ। सहभागीहरूले मौलिक देउसी-भैलो गीत, नेपाली लोकसंस्कृति, समसामयिक विषय, राष्ट्रिय एकता र जनचेतनामूलक सामग्री समेटिएको कम्तीमा ५ मिनेटको भिडियो तयार पार्नुपर्नेछ। निष्पक्षता कायम गर्नका लागि कुनै पनि प्रकारको सम्पादन (Editing) गरिएको भिडियोलाई मान्यता दिइने छैन।

​तयार पारिएको भिडियो आगामी कार्तिक २९ गतेभित्र आयोजकको आधिकारिक व्हाट्सएप नम्बरहरू (९८०४९०१५०० र ९८५२६७३१६९) मा पठाइसक्नुपर्नेछ। प्राप्त भएका सम्पूर्ण भिडियोहरूलाई आगामी मंसिर १ गतेदेखि आयोजकको आधिकारिक पेजमार्फत क्रमिक रूपमा प्रसारण गरिनेछ।

​सहभागीहरूको प्रस्तुतिलाई १०० पूर्णाङ्गका आधारमा निष्पक्ष मूल्याङ्कन गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा प्रथम हुने समूहले रु. २१,०००/-, द्वितीयले रु. १५,०००/-, तृतीयले रु. १०,०००/-, र दुई वटा सान्त्वना पुरस्कार स्वरूप जनही रु. ५,०००/- प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट मौलिक प्रस्तुति, भेषभूषा वा सामाजिक सन्देशका आधारमा विशेष पुरस्कारसमेत प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी उत्कृष्ट ५ समूहले समापन समारोहका दिन आफ्नो प्रत्यक्ष प्रस्तुति दिने अवसरसमेत प्राप्त गर्नेछन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)