झापा । सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा मंगलबार दुई वटा हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकप्टरका पङ्खा (ब्लेड) एकआपसमा जुधेका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने र घाइते हुने दुवै जना विदेशी नागरिक हुन्।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्यका साथै थप अनुसन्धान जारी रहेको प्राधिकरणले जनाएको छ।
