झापा । कोरोना भाइरस (सार्स–कोभ–२) को नयाँ उत्परिवर्तन (म्युटेसन)बाट बनेको ‘पीजे.२.१’ नामक नयाँ भेरियन्ट विश्वका विभिन्न मुलुकमा तीव्र गतिमा फैलिन थालेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले गत नोभेम्बर ९ (कात्तिक २३ गते) चेतावनी जारी गर्दै यसका लक्षणहरू सामान्य रुघाखोकी तथा मौसमी फ्लुसँग मिल्दोजुल्दो रहेको जनाएको छ।
डब्लूएचओका अनुसार लक्षणकै भरमा कोभिड सङ्क्रमण हो वा अन्य कुनै श्वासप्रश्वाससम्बन्धी भाइरस हो भनेर छुट्याउन कठिन छ। यसका लागि आरटी–पीसीआर वा द्रुत परीक्षण (एन्टिजेन टेस्ट) नै आवश्यक पर्ने देखिएको छ।
कहाँ–कहाँ फैलियो ?
अमेरिकामा गरिएको फोहोरपानी (ढल) को निगरानीका आधारमा ‘पीजे.२.१’ हाल तीब्र गतिमा फैलिरहेका नयाँ स्वरूपमध्ये एक बनेको छ। यो भेरियन्ट पहिलोपटक गत मे २ मा क्यानडाको ओन्टारियो प्रान्तमा भेटिएको थियो। हाल यो उत्तर अमेरिकाका विभिन्न राज्यहरूसँगै सिङ्गापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड, इजरायल, फ्रान्स र स्पेनमा समेत पुष्टि भइसकेको छ। स्पेनका केही स्थानमा त यो विदेशबाट आएका व्यक्तिमा मात्र सीमित नरही समुदायस्तरमै फैलिइसकेको सङ्केत देखिएको छ।
फैलिनुको मुख्य कारण र लक्षणहरू
वैज्ञानिक पत्रिका ‘जर्नल अफ इन्फेक्सन’ मा प्रकाशित अध्ययनअनुसार यसको तीव्र फैलावटको मुख्य कारण मानव कोषको सतहमा रहने ‘एसीई–२’ रिसेप्टरसँग जोडिने क्षमता अत्यधिक हुनु हो। यसले भाइरसलाई मानव कोषभित्र प्रवेश गर्न सहज बनाउँछ।
यसबाट सङ्क्रमित हुँदा घाँटी दुख्ने वा खसखसाउने, अत्यधिक थकान र कमजोरी महसुस हुने, रुघाखोकी लाग्ने, ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या आउनेलगायतका लक्षणहरू देखिने गरेका छन्। केही सङ्क्रमितमा घाँटीको दुखाइ र थकान लामो समयसम्म रहने गरेको पाइएको छ।
नेपालमा कति छ जोखिम ?
हालसम्म नेपाल र भारतमा यसको सङ्क्रमण पुष्टि भइसकेको छैन। यद्यपि, अन्तर्राष्ट्रिय आवागमनका कारण जुनसुकै बेला भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै विज्ञहरूले पूर्वसतर्कता र परीक्षणको दायरालाई बढाउनुपर्नेमा जोड दिएका छन्।
उपलब्ध तथ्यांकअनुसार यो भेरियन्टले पहिलेका स्वरूपभन्दा गम्भीर बिरामी पार्ने, अस्पताल भर्ना दर बढाउने वा मृत्युको जोखिम निम्त्याउने कुनै ठोस प्रमाण फेला परेको छैन। बेलारुस र रुसका स्वास्थ्य निकायहरूले पनि यसबाट निमोनिया वा गम्भीर श्वासप्रश्वासको समस्या नबढेको जनाएका छन्।
विशेषज्ञहरूले नयाँ भेरियन्टप्रति निगरानी राख्नुपर्ने तर विनाकारण त्रास नफैलाउन आग्रह गरेका छन्। साथै, डब्लूएचओले पनि सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड अपनाउन र आवश्यकता अनुसार परीक्षण गराउन सुझाव दिएको छ।
