समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

भीमफेदी दुर्घटनामा ज्यान गुमाउने सबै ११ जनाको सनाखत, एउटै परिवारका ५ जना परे

काठमाडौँ, कार्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुने सबै ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवकुमार काफ्लेका अनुसार दुर्घटनामा एउटै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् ।

​छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

​प्रहरीका अनुसार दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादवको मृत्यु भएको छ । यस्तै, सोही स्थानका ३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३२ वर्षीया गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । दुर्घटनामा माइक्रोबसका चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डलले समेत ज्यान गुमाएका छन् ।

​दुर्घटनामा घाइते भएका ६ जनामध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि घर फर्किएका छन् । गम्भीर घाइते ३ वर्षीय सुजन यादव र १४ महिनाका शिशु सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल पठाइएको छ । अर्का घाइते ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । छठ पर्वको मुखैमा भएको यस दुर्घटनाले सिंगो गाउँ शोकमा डुबेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)