झापा : झापाको बाह्रदशी गाउँपालिका–५ खटखटीमा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा ज्यान गुमाएका दुई युवकको पहिचान खुलेको छ । मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र बाह्रदशी–२ बुट्टाबारीका अशोक राजवंशी रहेका छन् ।
बुधबार राति करिब १०ः४० बजे खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना निकै भीषण भएकाले सुरुमा पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो ।
घटनापछि धान काट्ने मेसिनका चालक सवारीसाधन छाडेर फरार भएका छन् । प्रहरी चौकी फुलबारी र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले राति १२ः४५ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । दुर्घटनामा संलग्न सवारीसाधन बिर्तामोड प्रहरीको नियन्त्रणमा लिइएको छ भने फरार चालकको खोजी तथा थप अनुसन्धान भइरहेको छ ।
