समाचार
हल्दिबारी संवाददाता २० मिनेट अगाडि

झापामा मंसिर १५ देखि समर्थन मूल्यमा धान खरिद गरिने

भद्रपुर (झापा) — सरकारले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा झापामा आगामी मंसिर १५ गतेदेखि धान खरिद प्रक्रिया सुरु हुने भएको छ । किसानले उत्पादन गरेको धानको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले खरिद कार्य अघि बढाउन लागिएको हो ।

​प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले मंसिर १५ गतेदेखि औपचारिक रूपमा खरिद थाल्ने निर्णय गरेको हो ।

​निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान), बिर्तामोडमार्फत जिल्लाभरबाट कुल १२ हजार क्विन्टल धान खरिद गरिनेछ । जसमा सोना मनसुली धान ८ हजार क्विन्टल र रन्जित मनसुली धान ४ हजार क्विन्टल खरिद गर्ने कोटा निर्धारण गरिएको छ । सरकारले चालु आर्थिक वर्षका लागि दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकेको छ ।

​यस्तै, स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमै रहेर धानको खरिदबिक्री गरिदिन समितिले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूलाई समेत आग्रह गरेको छ । यद्यपि, निजी क्षेत्रका हकमा भने यो मूल्य बाध्यकारी नरहेको समितिले स्पष्ट पारेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)