काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मिति २०८३ मंसिर ९ गते दिउँसो करिब १ बजेको समयमा काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित स्नोलाइन होटलमा स्रोत नखुलेको अवैध रकम लुकाइछिपाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा जाँच गरेको थियो । जाँचका क्रममा अवैध नेपाली नगद ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल ४ हजार २१५ दशमलव ०९१ र ५५ यूएई दिराम बरामद भएपछि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा चितवन घर भई हाल काठमाडौंको ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक यागिथ इब्राहिम रहेका छन् । बरामद रकम तथा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।