काठमाडौँ । भोटेकोशी बाढीप्रभावितको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनालाई २ सय थान पोर्टेबल इलेक्ट्रिक हेडल्याम्प हस्तान्तरण गरिएको छ ।
अमेरिकी नागरिक जन सी. ग्रेगरी जुनियरले उपलब्ध गराएका उक्त सामग्री बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाल रेडक्रस सोसाइटी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा सेनालाई बुझाएका हुन् ।
रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारी र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सेनाका सहायक रथी शीतल बानियाँलाई सामग्री हस्तान्तरण गरे । करिब एक हजार अमेरिकी डलर मूल्य बराबरका ती सामग्रीमा एक सय थान ‘सेप्टर रबर–इलास्टिक’ र एक सय थान ‘ब्यान्डिट’ हेडल्याम्प रहेको प्राधिकरणले जनाएको छ ।
अमेरिकाको लाइटिङ उपकरण उत्पादक कम्पनी ‘स्ट्रिमलाइट इङ्क’ का जनरल काउन्सेलसमेत रहेका ग्रेगरीले मानवीय सहायतास्वरूप उक्त उपकरण उपलब्ध गराएका हुन् । रातिको समय र कठिन भूगोलमा खटिने उद्धारकर्मीलाई यसले सहज बनाउने विश्वास लिइएको छ ।
कार्यक्रममा रेडक्रसका उपनिर्देशक शिवराम गौतम, लेखा अधिकृत शम्भुप्रसाद निरौलालगायत सेना र प्राधिकरणका अधिकारीहरूको उपस्थिति थियो ।
