समाचार
हल्दिबारी संवाददाता १८ मिनेट अगाडि

भारतमा स्वघोषित पत्रकार र रीलबाजलाई सर्वोच्चको कडा टिप्पणी : मान्यताप्राप्तसरह संरक्षण नपाइने

नयाँ दिल्ली, मङ्सिर १० (एजेन्सी)

​भारतको सर्वोच्च अदालतले व्यावसायिक तथा मान्यताप्राप्त पत्रकार र सामाजिक सञ्जालमा रील बनाउने कन्टेन्ट क्रिएटरबीच स्पष्ट लक्ष्मणरेखा कोर्नुपर्ने आवश्यकता औँल्याएको छ। मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारविरुद्ध भएको प्रदर्शनका क्रममा पत्रकारमाथि भएको भनिएको दुर्व्यवहारसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै अदालतले स्वघोषित पत्रकारहरूले मान्यताप्राप्त पत्रकारसरह विशेष सुरक्षा र संरक्षण पाउन नसक्ने स्पष्ट पारेको हो।

​बिहीबार भएको सुनुवाइका क्रममा सर्वोच्चका न्यायाधीश जोयमाल्या बागचीले पत्रकारको पहिचान र दर्जा आफैँले घोषणा गरेर लिन सकिने विषय नभएको मौखिक टिप्पणी गरे। प्रिन्ट माध्यम, टेलिभिजन च्यानल वा दर्ता भएका अनलाइन सञ्चारमाध्यममा आबद्ध भई प्रेस काउन्सिलबाट मान्यताप्राप्त पत्रकार र हातमा मोबाइल बोकेर रील बनाउँदै हिँड्ने व्यक्तिलाई एउटै दृष्टिले हेर्न नमिल्ने अदालतको ठम्याइ छ। पछिल्लो समय जोकोहीले आफूलाई पत्रकार दाबी गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै न्यायाधीश बागचीले यस्ता स्वघोषित पत्रकारलाई मान्यताप्राप्त पत्रकारसरहको संरक्षण दिन आवश्यक नरहेको बताए।

​यसअघि दिल्ली प्रहरीले पनि प्रदर्शनस्थलमा रील बनाउने र कन्टेन्ट क्रिएटरका कारण शान्तिसुरक्षा तथा कानुन व्यवस्था कायम गर्न चुनौती थपिएको तर्क प्रस्तुत गरेको थियो। विशेषगरी दिल्लीमा भएको नीट (NEET) पेपर लिक आन्दोलनपछि हातमा मोबाइल बोकेर प्रदर्शनस्थलमा पुग्ने र आफूलाई पत्रकार बताउँदै भिडियो बनाउने क्रम बढ्दा वास्तविक पत्रकार र प्रदर्शनकारी छुट्याउन सुरक्षा निकायलाई कठिन हुने गरेको बताइएको छ।

​सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले प्रेस स्वतन्त्रताको संरक्षण र कानुन व्यवस्था कायम राख्ने सरकारको संवैधानिक दायित्वबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिए। प्रदर्शन तथा संवेदनशील घटनाको रिपोर्टिङका क्रममा पत्रकारहरूसँग कस्तो व्यवहार गरिनुपर्छ भन्ने विषयमा स्पष्टता आवश्यक देखिए अदालतले हस्तक्षेप गर्ने सङ्केतसमेत प्रधानन्यायाधीशले दिएका छन्।

​डिजिटल प्रविधिको विस्तारसँगै अनियन्त्रित रूपमा मौलाउँदै गएको सामाजिक सञ्जालको गतिविधि र संस्थागत तथा व्यावसायिक पत्रकारिताबीच स्पष्ट भिन्नता स्थापित गर्न अदालतको यो टिप्पणी महत्त्वपूर्ण मानिएको छ। यसले प्रदर्शन तथा भिडभाड नियन्त्रणका क्रममा सुरक्षा निकाय र सञ्चारकर्मीबीच उत्पन्न हुने अस्पष्टतालाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)