देवेन्द्रकिशोर ढुंगाना – बिर्तामोड । पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्न नेकपाले सरकार फेरबदल गरेर शक्ति सन्तुलन कायम गराउने गरी छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिअनुसार बनेको छ सदस्यीय कार्यदललाई सरकारमा शक्ति सन्तुलन मिलाएर पार्टीभित्र आन्तरिक विवादलाई समाधान गर्ने गरी आन्तरिक रुपमा म्याण्डेड दिएपछि कार्यदलले सोही दिशामा छलफल थालेको हो ।

कार्यदलले अहिले संघीय सरकारसहित प्रदेशको नेतृत्वमा समेत कसरी फेरबदल गर्न सकिन्छ भन्ने विषयमा छलफलमार्फत सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलका एक सदस्यका अनुसार संघीय सरकारका केही मन्त्री देखि केही प्रदेशको नेतृत्व फेरेर शक्ति सन्तुलन मिलाउने गरी छलफल अघि बढीरहेको छ ।

ति कार्यदल सदस्यका अनुसार संघीय सरकारमा माओवादीका अधिकांश मन्त्रीहरु फेर्ने र एमालेकातर्फबाट रहेका केही मन्त्रीहरुसमेत फेर्ने गरी छलफल भईरहेको छ

एमालेको तर्फबाट भीम रावल, सुरेन्द्र पौडेल र गोकर्ण विष्ट थपिने सम्भावना छ । त्यस्तै माओवादीबाट जनार्दन शर्मा, देबेन्द्र पाण्डे, पम्फा भुषाल पर्ने सम्भावना छ । प्रदिप ज्ञावली, योगेश भट्टराई, घनश्याम भुषल, वर्षमान पुन र शक्ति बस्नेत भने कायम रहने स्रोतले जनाएको छ ।

कार्यदलले दुई वर्ष मन्त्री बनिसकेका र राम्रो कार्यसम्पादन गर्न नसकेका १० जना मन्त्री फेर्ने गरी छलफल थालेको छ । त्यस्तै कार्यदलले प्रदेश १, ३ र ५ को मुख्यमन्त्री फेरेर शक्ति सन्तुलन गराउने दिशामा पनि छलफल गरिरहेको छ । स्रोतका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल फेर्ने विषयमा मोटामोटी सहमति बनिसके पनि प्रदेश ५ को विषयमा भने ठोस सहमति बनिसकेको छैन ।

कार्यदलले सहमतिमा ल्याएको प्रस्ताव पार्टीको सचिवालय र स्थायी कमिटीले अनुमोदन गरेपछि फेरबदल हुने छ । बाग्मतीमा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य, एक नम्बरमा शेरधन राईको ठाउँमा भीम आचार्य आउनेसक्ने सम्भावना रहेको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नो पद धरापमा परेको महसुस गरेका मुख्यमन्त्री राई कोरोना महामारीको बिच नियन्त्रण र ब्यवस्थापनको कामलाई थाती राखेर लामो समय काठमाडौ बसेर हालसालै मात्रै विराटनगर फर्किएका हुन ।

कार्यदलमा सघन छलफल चलिरहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले यही साता मन्त्रिपरिषद् हेरफेर गर्ने गरी तयारी गरिरहेका छन । पार्टीको आन्तरिक विवाद समधानका लागि ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । नेकपाले पार्टीभित्रको विवाद समाधान गर्ने गरी शक्ति सन्तुलन कायम गराउन महासचिव बिष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे संयोजक रहेको कार्यदल गठन गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार